कैलाली कञ्चनपुरमा देउसी–भैलोबाट उठेको रकमले वनभोज खान जाने क्रम सुरु
तिहारमा संकलन भएको रकमबाट कैलाली र कञ्चनपुरमा वनभोज जाने क्रम सुरु भएको छ। देउसी भैलो खेलेर उठेको रकमले दौतरीहरुसंग मिलेर वनभोज गएका बेला हरेक वर्ष विभिन्न दुर्घटना भई बालवालीकाहरुको ज्यान समेत गएका घटनाहरु बढ्न थालेपछि सचेतना अपनाउन आग्रह गरिएको छ।
स–साना बालबालिका अभिभावक बिना नै वनभोज जाने गर्दछन। उनीहरुलाई भैपरी आउने जोखिमको बारेमा जानकारी समेत हुदैन्। भएकाहरु पनि वेवास्ता गर्छन्। त्यसैले अभिभावकले सो विषयमा सचेत हुन आवश्यक छ। कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बालबालिका वनभोज गएका बेला तालतलैया र नदीहरुमा नुहाउने गर्नाले डुबेर ज्यान गएका घटना भएकाले सचेत रहन आग्रह गरे।
उनले सवारी दुर्घटना समेत हुने भएकाले क्षमता भन्दा धेरै यात्रु भएको गाडीमा यात्रा नगर्न पनि आग्रह गरे। ब्ढिजसो बालबालिकालाई दुर्घटनाबाट जोगाउन अभिभावकले सचेत बन्नुपर्ने सुझाव बस्नेतको छ। कैलाली–कञ्चनपुरमा वनभोज खान जाने ठाँउहरु भनेर तालको छेउ, नदी किनार र चुरे पहाडको फेदीका साथै भन्ज्याङ रोजाईमा पर्ने गरेका छन्।
ती सवै ठाउँमा केही न केही जोखिम पनि भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो। तिहारमा दौतरी साथीहरु मिलेर भैली खेल्दै जम्मा भएको रकमले वनभोज जाने चलन पछिल्ला वर्ष यता निकै बढेको छ। देउसी खेलेको रुकम सामाजिक कार्यमा खर्च गर्ने परिपाटी रहेपनि पछिल्ला वर्ष वनभोज जाने चलन बढेको हो।
त्यसैले वनभोज गएका बेला दौतरीहरु बिच नै झै–झगडा सहित बलात्कारका घटना हुने भएकोले पनि सावधानी अपनाउन आग्रह गरिएको हो। कञ्चनपुरको वेदकोट नगरपालिका मेयर अशोक कुमार चन्दले पनि बालबालिकालाई वनभोज खान पठाउदा ख्याल गर्न आग्रह गरे।
उनले आफ्नो नगर क्षेत्रमा रहेका पर्यटकिय स्थलमा पनि बालबालिका वनभोज खान पुग्ने भएकाले नगरपालिकाले समेत सुरक्षा प्रबन्धको उचित व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरेको बताए। ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख तथा प्रहरी नायव उपरिक्षक मनोहर भट्टले तिहार सकिएसँगै टीकापुर पार्कमा पनि वनभोज खान आउने क्रम सुरु भएको बताए।
उनले नजिकै रहेको कर्णाली नदीमा बालबालिकाहरु पौडी खेल्न जाने भएकाले सचेतना अभि वृद्धि गर्दै सुरक्षा प्रबन्ध मिलाईएको बताए। देउसी–भैलोपछि, कैलालीका गोदावरी, चिसापानी, खानीडाँडा, घोडाघोडी ताल, टिकापुर पार्क, जाखोर ताल, चुरे फेदीका विभिन्न ठाउँहरु सहित कञ्चनपुरको दोधाराचाँदनी, लिङ्गा र बेदकोट तालमा लगायतका पर्यटकीय स्थानमा वनभोज जाने क्रम सुरु भएको छ।