भ्रमण वर्षका लागि सुदूरपश्चिम प्रदेशमा तयारी बल्ल सुरु
सुदूरपश्चिम प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को तयारी बल्ल सुरु गरिएको छ। नेपाल भ्रमर्ण वर्ष २०२० का लागि पर्यटन प्रवद्र्धन समिति गठन गरेको झण्डै पाँच महिनापछि भएको पहिलो बैठकसंगै तयारी समेत सुरु गरिएको हो। यद्यपी पहिलो बैठकमा ३६ सदस्यीय समिति रहेकोमा १७ जना मात्रै सहभागी भएपछि कुनै ठोस निर्णय हुन सकेन।
बैठकपछि पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक पर्यटक र भारतका पर्यटकलाई प्रदेशमा ल्याउने योजना सहित तयारी थालिएको जनाएको छ। पर्यटन मन्त्री मायाँ भट्टले सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रको प्रचारका लागि भारतको देहरादुन जाने र प्रदेशका तराईका जिल्लाबाट पहाडी जिल्लाहरुमा आन्तरिक पर्यटक पुगाउनका लागि योजनावद्ध रुपमा अगाडी बढ्ने बताईन्। सोही लक्ष्य अनुसार प्रदेश सरकारले पनि बल्ल आएर तयारी थालेको हो।
नेपाल भ्रमण वर्ष २०२० मा भारत तथा आन्तरिक पर्यटकलाई पहिलो प्राथामिकतामा राख्दै तयारी थालिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले भारतको सीमावर्ती क्षेत्रका शहरका नागरिकलाई नेपाल भ्रमणमा आउन आग्रह गर्ने र प्रदेशका तराईका जिल्लाबाट पनि पहाडी जिल्लामा पर्यटक लैजान योजना बनाउने सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मायाँ भट्टले बताईन्।
‘भारतबाट सुदूरपश्चिमको नाका भएर आउने पर्यटकलाई सहजताका लागि सूचना केन्द्र र सहायता कक्षलाई व्यवस्थीत पार्ने योजना पनि छ,’ मन्त्री भट्टले भनिन्, ‘आन्तरिक तथा बाह्य पर्यटकको तथ्याँक पनि राखिने छ। सीमाबाट प्रदेश भित्रिने पर्यटकको सहजताका लागि सूचना केन्द्रले मदत पुग्ने आशा गरेका छौ।’ प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले नयाँ पर्यटकीय क्षेत्रको पनि प्रचार प्रसार गर्ने बताए।
कैलालीको चिसापानी, अत्तरिया लगायतका बजारहरुमा सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचार गरिने उनले बताए। आन्तरिक उत्पादनका परिकार तथा विभिन्न समुदायको संस्कृतीको प्रचार प्रसार गर्ने योजना प्रदेश सरकारको रहेको छ। सन २०२० को जनवरी १ तारेक अर्थात १६ पुष २०७६ देखि नेपाल भ्रमर्ण वर्ष सुरु हुने छ। नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य छ।