आर्थिक बर्षका ४३ दिन बाँकी: कैलालीमा ढाई अर्व विकास बजेट खातामै थन्कियो (भिडियो सहित)
दैनिक ६ करोड खर्च गर्नुपर्ने
आर्थिक बर्ष सकिन डेढ महिना मात्रै बाँकी रहेका बेला कैलाली जिल्लामा पुँजीगत अर्थात विकास बजेट खर्चको अवस्था निकै दयनिय देखिएको छ । गत विगतका बर्षहरु भन्दा यसपाली विकास बजेट कार्यान्वयनको अवस्था झनै दयनीय देखिएको हो । डेढ महिना मात्रै बाँकी रहेका बेला अहिले पनि जिल्लामा साढे २ अर्व बढि विकास बजेट खर्च गर्न बाँकी रहेको छ ।
६ अर्व विकास बजेटको अख्तीयारी पाएको कैलाली जिल्लाले आर्थिक बर्षको डेढ महिना मात्रै बाँकी रहेका बेला ५७ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । जिल्लाका विकासे अड्डालाई अव डेढ महिनामा २ अर्व ५६ करोड विकास बजेट खर्च गर्नुपर्ने जिम्मेवारी रहेको छ । चालु तर्फको बजेट भने १६ प्रतिशत मात्रै खर्च गर्न बाँकी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेयले बताए ।
जिल्लामा कार्यान्वयन भईरहेका ठुला आयोजनामा रानी जमरा बाहेक अन्य आयोजनाको प्रगति भने सन्तोषजनक रहेको छ । रानी जमराले अहिले पनि ८४ करोड विकास बजेट खर्च गर्न बाँकी रहेको छ भने हुलाकी सडकले धेरै पहिले नै सत प्रतिशत बजेट कार्यान्वयन गरिसकेको छ । १ अर्व ४५ करोड विकास बजेट खर्चको जिम्मा पाएको शहरी विकासले झण्डै ६० करोड खर्च गर्न बाँकी राखेको छ । मोहनापुल–अत्तरीया, खुटीया दिपायल फास्ट ट्रयाक लगायतका योजनामा निकै न्युन बजेट विनीयोजन भएकाले वित्तीय प्रगति सन्तोषजनक रहेको छ ।
जेठ १५ मै बजेट आएको थियो भने विकासे अड्डाहरुले अख्तियारी पनि समयमै पाएका थिए । तर पनि कैलाली जिल्लामा विकास बजेट कार्यान्वयनको अवस्था सुधार हुनुको सट्टा विग्रीदै गएको छ । यस्ले विकास बजेट कार्यान्वयन गर्ने जिम्मा पाएका सरकारी कर्मचारीदेखि स्थानीय तहका जनप्रतिनिधि पनि जिम्मेवार नभएको पुष्टी गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका पुर्व प्रमुख शिवचरण चौधरीले बताए ।
स्थानीय तह कार्यान्वयनमा आएसंगै विकास निर्माणका योजना सञ्चालनको जिम्मा पनि उनिहरुले नै पाएका छन् । त्यसैले विगतमा अन्य विकासे अड्डाले कार्यान्वयन गर्ने बजेटको आकार पनि स्थानीय तहमै गएको थियो । पहिलेको भन्दा दशौ गुणाले बढेर आएको स्थानीय तहको बजेट कार्यान्वयन नगरपालिका, उप–महानगरपालिका र गाउपालिकाको संयन्त्र खर्च गर्न असफल भएको छ । त्यसैले विगतका बर्षको भन्दा पनि विकास बजेट खर्चको अवस्था कमजोर देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख लक्ष्मीप्रशाद जोशीले बताए । कैलाली जिल्लाका विकासे अड्डाहरुले सम्पुर्ण विकास बजेट सक्नका लागि दैनिक ६ करोड खर्चु गर्नुपर्ने देखिएको छ ।
अहिले स्थानीय तहदेखि अन्य विकासे अड्डाहरुलाई असारे विकासको चटारो पनि लाागेको छ । बजेट सक्नैका लागि भईरहेको विकास दिगो हुदैन भन्ने कुराको पुष्टी भने प्रत्येक बर्ष हुने असारे विकासले गरिसकेको छ ।