सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा आलु महोत्सव

बाजुराको आलु खेती
बाजुराको आलु खेती
२०७६ कार्तिक ३, ०६:२३ रोशन भट्ट

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्येश्यले बाजुरामा आलु महोत्सव आयोजना गरिने भएको छ। विगत लामो समयदेखि आलु खेती गर्दै आएका बाजुराका किसालाई सहज होस भन्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको हो। ढम्कने सहकारी संस्थाको आयोजना तथा कृषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाको सहयोगमा महोत्सव हुन लागेको हो।

सो क्षेत्रमा धान भन्दा बढी आलु फल्ने गरेका कारण यसको बजारीकरणमा जोड दिन सकेमा किसानलाई फाईदा हुने किसान तथा ढम्कने सहकारी संस्थाका अध्यक्ष नरबहादुर रोकायले बताए।‘प्रशस्त मात्रमा आलु उत्पादन हुने गरेको भएपनि बजारीकरणमा भने निकै समस्या देखिएको छ।’ उनले भने। नगरपालिकाको विकट क्षेत्र मानिने वडा नम्बर ७ ढम्कनेमा महोत्सव आयोजना हुने भएको हो।

आलुको उत्पादन, प्रशोधन र बजारीकरण हाम्रो अभियान, ढम्कनेको स्थानिय अर्गानिक आलु बाजुराको पहिचान भन्ने मुल नाराका साथ आउँदो कात्तिक २० देखि २२ गतेसम्म तीन दिन महोत्सव संञ्चालन हुने कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीले बताए। ‘जसले एक पटक खायो, उसले स्वाद थाहा पायो भन्ने गुणस्तरको प्रतिबद्धता सहित बाजुराको स्याउ बजारीकरण भयो।’ जैशीले भने। ‘अव आलुको बजारीकणका लागि अभियान थालिएको हो।’

उक्त महोत्सवमा एक हजार क्वीन्टलको आलुको पहाड बनाएर सुपथ मुल्यमा विक्रि गरिने छ। यो संगै आलुका १५ देखि २० परिकार बनाएर महोत्सवमा प्रदर्शन गरिने बताईएको छ। स्थानीय क्षेत्रमा उत्पादन भएको सेतो आलुले बजार नपाएका वेला महोत्सव आयोजना हुने भएपछि किसानहरुलाई सहज हुने विश्वास लिईएको छ।

धानको विकल्पको रुपमा आलुलाई चिनाउने भन्दै महोत्सवमा आलु विज्ञ र किसानहरुसंग अन्तरक्रिया समेत गरिने बताईएको छ भने किसानहरुलाई आलुको परिकार बनाउने तालिमा समेत दिईनेछ। तीन दिन सम्म संचालन हुने महोत्सवमा पाँच लाख खर्च लाग्ने अनुमान गरिएको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस