सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँ तिहारमा सुदूर पहाडमा खाद्यान्न अभाव नहुने

२०७६ असोज ९, ०६:२९ कमल सावद

दशैँ तिहारको समयमा सुदूरपश्चिम प्रदेशमा खाद्यान्नको अभाव नहुने दावी गरिएको छ। विगतमा चाडपर्वका बेला प्रदेशमा खाद्यान्नको अभाव हुने समस्या रहेपनि यसवर्ष भने अभाव हुन नदिने दावी खाद्य संस्थानको छ।

संस्थानसंग यसअघिकै चामल मौज्दात रहेकाले दशैँ तिहारमा खाद्यान्न अभाव नहुने दावी गरिएको हो। बझाङमा एक सय ४० क्विन्टल चामल अहिले पनि मौज्दात रहेको छ। तर बजारको चामल भन्दा महंगो हुँदा बिक्री नहुने समस्या कायमै रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बझाङका प्रमुख ईश्वरी पाण्डेले बताए। बजारमा मोटो चामल ३८ देखि ४० रुपैँयामा पाईने तर संस्थानको चामल ४३ रुपैयामा बिक्री भइरहेकोले बिक्री नभएको पाण्डेले बताए।

बाजुराको मार्तडी, कवाडी तथा कोल्टीमा चामलको मौज्दात भएपनि बिक्री न्युन मात्रामा भएको छ। बाजुराका तीन डिपोका लागि नौ हजार क्विन्टल चामल आवश्यक हुन्छ। अहिले बाजुरा शाखामा दुई हजार चार सय ५२ र कोल्टीमा दुई हजार चार सय क्विन्टल चामल मौज्दात छ। अहिले बजारको मुल्य भन्दा कममा चामल विक्रि हुन थालेपछि बिक्री हुन थालेको नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराका प्रमुख मेघनाथ ओझाले बताए।

नजिकिँदै गरेको दशैँ तथा तिहारका लागि आवश्यक पर्ने चामल मौज्दात रहेको संस्थानको दावी छ। धनगढीमा तीन हजार तीन सय र अछाममा तीन सय ६७ क्विन्टल चामल मौज्दात छ। धनगढीबाट पहाडी जिल्लाहरुका लागि थप चामल पठाउनका लागि ढुवानी ठेक्का भएको छ। तर बझाङ र बाजुराका लागि नयाँ ठेक्का भने भएको छैन्। गत आर्थिक वर्षमा ढुवानी भएको चामल पनि बिक्री नहुँदा नयाँ ठेक्का नभएको हो।

नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड धनगढी कार्यालयका प्रमुख अनिलकुमार श्रेष्ठले पहाडी जिल्लाहरुमा चामल मौज्दात रहेको बताए। ‘सबै जिल्लाहरुमा खाद्यान्न मौज्दात छ,’ उनले भने, ‘धनगढीमा रहेको खाद्यान्न मात्र पहाडी जिल्ला पठाउन सकियो भने, दशैँ तिहारका लागि खाद्यान्न अभाव हुदैन्।’ सुदूरपश्चिम प्रदेशको बझाङको बिसौना, चैनपुर र तलकोटमा एक÷एक हजार, अछाममा एक हजार, बैतडीको मेलौली र पुर्चौडीमा एक÷एक हजार तथा कुलाउमा तीन हजार, दार्चुलाको खण्डेश्वरी र सुनसेरामा तीन-तीन हजार तथा पारिबगरमा एक हजार क्विन्टल चामल खाद्य संस्थानबाट एक वर्षमा बिक्री हुँदै आएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस