विश्वविद्यालय सञ्चालनको कानुनी बाटो खुलेपछि राजनीतिक दलहरूले साटे खुसी

धनगढीः कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको कानुनी बाटो खुलेपछि सुदूरपश्चिम प्रदेशमा उत्सव मनाइदै छ।
प्रतिनिधिसभाबाट सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगैे धनगढीमा सबै दलले खुसी साटासाट गरेका हुन्। नेकपा एमाले प्रदेश कमिटीको पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा विकासमा एक हुनुपर्ने सन्देश दिँदै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएकोमा उत्साह व्यक्त गरिएको छ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यवाहक उपसभापति लोकराज अवस्थी, नेकपा एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम कार्यसमितिको तर्फबाट भरत सी र राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष नन्दराज भट्टले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै समिति र सरकारलाई धन्यवाद प्रकट गरेका छन्। उनीहरूले संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा मेडिकल कलेज शीघ्र सञ्चालन गर्नेगरि आवश्यक दरबन्दी बजेट तथा अध्ययन अध्यायपनको सिट सङ्ख्या निर्धारण गरी तत्काल विश्वविद्यालय सञ्चालन गर्न सरकारसँग आग्रह गरिएको छ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश कार्यवाहक सभापति अवस्थीले सबै राजनीतिक दलहरूको एकताले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएको भन्दै अझै आउन सक्ने समस्याहरू हल गर्न पनि एक भइरहनु पर्ने बताएका थिए। एमाले प्रदेश अध्यक्ष जैशीले लामो समय प्रदेशवासीको अपेक्षा पछि विधेयक पारित भएको भन्दै अब कार्यान्वयनमा पनि ढिलाइ गर्न नहुने बताएका थिए।
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा भौतिक संरचना निर्माण सम्पन्न भए पनि विश्वविद्यालय सञ्चालनका लागि ठोस पहल नभएको भन्दै स्थानीयवासी तथा यहाँका सरोकार भएकाहरू असन्तुष्ट थिए। स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालयको बिचको विवादका कारण लामो समय अन्योलता रहेको थियो। नागरिकहरूले नेपालमै पहिलो पटक सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आएका थिए। कानुन निर्माणको प्रक्रियामा भएको ढिलाइका कारण प्रदेशका नागरिक आक्रोशित रहेका थिए। तर, विधेयक पारित भएसँग सुदूरपश्चिममा उत्साह छाएको छ। गेटामा दीप प्रज्वलन गरेर खुसियाली मनाइएको छ। सुदूरपश्चिमको संस्कृति देउडा खेलेरसमेत खुसियाली मनाइएको छ।
गेटामा न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालनमा छ। अस्पतालमा जनरल ओपिडि, हाडजोर्नी, जनरल सर्जरी ओपिडि, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, स्त्रीरोग, अल्ट्रासाउन्ड, एक्स रे, प्रयोगशाला र फार्मेसीलगायत सेवा उपलब्ध भइरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मेडिकल कलेजको नाममा भौतिक संरचनाहरू निर्माण थालेको थियो। मन्त्रालयले अत्याधुनिक भौतिक संरचना तथा भवन निर्माणमा ६ अर्बभन्दा बढी खर्च गरिसकेको छ। गेटामा मन्त्रालयले ठुला साना गरी ४२ भन्दा बढी भवन संरचना निर्माण गरेको छ।
सरकारले विसं २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो।