सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँको लागि बिहीबारदेखि नयाँ नोट साट्न पाइने

२०७६ असोज ८, ०२:५५ खबर संवाददाता

दशैँको लागि बिहीबारदेखि नयाँ नोट साट्न पाइने भएको छ। दशैँमा साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ। बैंकले पाँच, दश, २०, ५० र १०० दरका एकरएक पकेट गरी प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ।

यो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ। यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक तथा कृषि विकास बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ। आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यसैबीच केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ। टीका लगाइ दक्षिणा दिँदा, पूजाआजा गर्दा वा अरु कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैसँग आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस