एनपीएलः दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। फाइनल प्रवेशका लागि दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। चितवनले हिजो भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
यता, सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। यस सिजनको समूह चरणमा भने सुदूरपश्चिमले चितवनलाई ५ विकेटले हराएको थियो। यो जितको मनोबल सुदूरपश्चिमसँग रहँदा चितवन भने त्यसको बदला लिँदै फाइनल पुग्ने योजनामा हुनेछ। आजको खेलको विजेताले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।