सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक प्लेअफमा

२०८३ कार्तिक २७, ०४:११ खबर संवाददाता

धनगढी: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। शुक्रबार भएको पहिलो खेलमा काठमाण्डुलाई ७ रनले हराउँदै सुदूरपश्चिम लगातार तेस्रो संस्करणमा प्लेअफ पुग्ने दोस्रो टोली बनेको हो।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डु निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रनमै समेटियो।

काठमाण्डुका राशिद खानले ३१ बलमा ५ चौकासहित अविजित ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै, दुशान हेमन्थले १८ बलमा एक छक्का र एक चौकाको मद्दतले २१ रन जोडे।

सुदूरपश्चिमका बलर अनिल खरेलले सर्वाधिक दुई विकेट लिए। स्कट कुगलेइन, हेमन्त धामी र फबियन एलेनले समान एक–एक विकेट हात पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बलमा दुई छक्का र पाँच चौकासहित ६० रन बनाए। यस्तै, थरिन्दु रत्नायकेले २२ बलमा तीन चौकाको मद्दतले अविजित २६ रन जोडे भने आरिफ शेखले २५ बलमा एक चौकासहित १६ रन बनाए।

बलिङतर्फ काठमाण्डुका जहानदाद खानले तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे।

यस जितसँगै सुदूरपश्चिम ७ खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित काठमाण्डु भने ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा झरेको छ।

यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। शुक्रबार नै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

कमेन्ट लोड गर्नुस