टीकापुर पार्कमा पर्यटकको ओइरो, एकैदिन अढाई लाख बढीको टिकट बिक्री
धनगढी: कैलालीको टीकापुर पार्कमा पर्यटकको घुइँचो लागेको छ। बिहीबारदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो। परिवार, आफन्त र साथीभाइसँग घुमफिर गर्न पुगेका पर्यटकले पार्क भरिभराउ बनेको छ। पार्कको टिकट बिक्री काउन्टरका अनुसार बिहीबार एकै दिन दुई लाख ६० हजार रुपैयाँ बराबरको टिकट बिक्री भएको हो।
टीकापुर पार्क घुम्न कैलालीसहित बाँके, बर्दिया, कञ्चनपुर, दाङ, बुटवल र सुर्खेतलगायत जिल्लाबाट पर्यटक पुगेका थिए।
चाडपर्वको बिदामा पार्कमा देखिएको भीडले यसको बढ्दो लोकप्रियता झल्काएको छ। हरियाली वातावरण, आकर्षक बगैँचा र कर्णाली नदीको निकटताले टीकापुर पार्कलाई घुमफिरका लागि आकर्षक गन्तव्य बनाएको पर्यटकहरू बताउँछन्।
घोडाघोडीका रनिल चौधरीले टीकापुर पार्कलाई सुदूरपश्चिमकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। तर पर्यटकको चापअनुसार सरसफाइ, शौचालय, खानेपानी, विश्रामस्थल र अन्य सुविधामा सुधार गर्नुपर्ने उनको भनाइ छ।
जानकी गाउँपालिका–२ बढरियाकी सुशीला चौधरीले पार्कमा नयाँ आकर्षण थप्नुपर्ने बताइन्। पार्कभित्र संग्रहालय स्थापना गरी यसको इतिहास, विकासक्रम, पुराना तस्बिर र प्राकृतिक सम्पदाबारे जानकारी दिने व्यवस्था गर्न सके पर्यटकले मनोरञ्जनसँगै ज्ञानसमेत हासिल गर्न सक्ने उनको सुझाव छ।
दौलतपुरघाटको झोलुङ्गे पुल र सनकट्टी घाटको पुललाई पर्यटकीय गतिविधिसँग जोड्न सके पर्यटकको आकर्षण थप बढ्ने पर्यटकको भनाइ छ। पार्कभित्र कृत्रिम ताल, बोटिङ, वाटर पार्क, बाल उद्यान र व्यवस्थित विश्रामस्थल निर्माण गर्न सके पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने उनीहरूको तर्क छ।
तत्कालीन राजा महेन्द्रसँग ऐतिहासिक सम्बन्ध रहेको टीकापुर पार्क २०२८ सालमा स्थापना भएको हो। करिब ८५ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका र ऐश्वर्य उद्यानलगायत संरचना छन्।