सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाइटीकाका लागि उनेको माला भाइको गलामा सजिएन, घरको आँगनमा आइपुग्यो शव

२०८३ कार्तिक २५, १२:५९ खबर संवाददाता

डडेल्धुराः तिहार नजिकिँदै थियो। घरआँगनमा उज्यालो र उल्लास छाउने तयारी हुँदै थियो। दिदी सकुन्तला भण्डारीको मनमा पनि यसपालिको भाइटीकालाई लिएर छुट्टै उत्साह थियो। भाइलाई टीका लगाइदिने, माला पहिर्‍याइदिने र निधारमा सप्तरङ्गी टीका सजाइदिने रहरले उनले फूलमाला उन्न सुरु गरिसकेकी थिइन्। भाइ लोकेशले पनि काठमाडौँबाट घर फर्किने खबर दिएका थिए।

तर, दिदीले बाटो हेरेको भाइ घर त फर्कियो, तर कहिल्यै नब्युँझिने गरी। भाइटीकाको प्रतीक्षामा सजिएको घरमा खुसीको सट्टा एकाएक रुवाबासी चल्यो। लोकेशको पार्थिव शरीर घरको आँगनमा आइपुग्यो।

डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडाका ३४ वर्षीय लोकेश भण्डारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि भण्डारी परिवारको तिहार पीडामा बदलिएको हो। नेपाल प्रहरीमा कार्यरत लोकेश चार दिनअघि मात्रै नयाँ मोटरसाइकल किनेका थिए। त्यही मोटरसाइकल चढेर उनी घर फर्किंदै थिए। तर, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भयो।

भाइटीकाको एक दिनअघि कात्तिक २४ गते लोकेशको शव घर पुर्‍याइयो। जुन घरमा दिदी भाइको स्वागतका लागि फूलमाला उनेर बसेकी थिइन्, त्यही घरको आँगनमा लोकेशको शव देख्दा परिवारका सदस्य र गाउँलेका आँसु थामिएनन्। भाइटीकाका लागि सिँगारिनुपर्ने आँगनमा अन्तिम बिदाइको पीडादायी दृश्य देखियो। सोही दिन उनको अन्त्येष्टि गरिएको छ। लोकेशको मृत्युले परिवारले एउटा सदस्य मात्र गुमाएको छैन, वृद्ध आमाबुवाले बुढेसकालको सहारा गुमाएका छन्। सानी छोरीले कलिलै उमेरमा बुबाको माया र साथ गुमाएकी छन्। दिदी सकुन्तलाका लागि भने यसपालिको भाइटीका जीवनभर नमेटिने पीडा बनेर आएको छ।

यसैबीच, शोकमा डुबेको भण्डारी परिवारलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले स्थानीयले सहयोग अभियान सुरु गरेका छन्। असामयिक निधनबाट आर्थिक तथा भावनात्मक सङ्कटमा परेको परिवारलाई राहत पुर्‍याउन सहयोगी मनहरूलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ। 

कमेन्ट लोड गर्नुस