सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश प्रहरीले मनायो कुकुर तिहार

२०८३ कार्तिक २२, १०:१८ खबर संवाददाता

धनगढी: कुकुर तिहारको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीस्थित केनाइन शाखामा तालिमप्राप्त कुकुरहरूको पूजा गरिएको छ। कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुर तिहारका अवसरमा आइतबार आयोजित विशेष कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले कुकुरहरूको पूजा गर्दै माला र टीका लगाएर प्रसाद प्रदान गरेका हुन्।

कार्यक्रममा डीआईजी भट्टराईले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम तथा अन्य प्रहरी कार्यमा तालिमप्राप्त कुकुरहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले प्रहरी कार्यमा कुकुरहरूको योगदान अमूल्य रहेको उल्लेख गर्दै उनीहरूको कार्यकुशलता, समर्पण र योगदानको प्रशंसा गरे।

नेपाल प्रहरीको केनाइन शाखामा रहेका तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धानलगायत विभिन्न प्रहरी कारबाहीमा सहयोग गर्दै आएका छन्। कुकुर तिहारका अवसरमा उनीहरूको योगदानको सम्मानस्वरूप पूजा गर्ने परम्परा छ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशकी अध्यक्ष मुना भट्टराई, वरिष्ठ प्रहरी अधिकृत, कनिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस