सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्य, सुशासन र समृद्धिको कामनासहित प्रधानमन्त्री शाहले दिए दसैँको शुभकामना

२०८३ कार्तिक ४, ०८:१२ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बडादसैँको शुभकामना दिँदै सत्यको मार्गमा हिँड्न र सुशासन कायम गर्न सबैलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा विजयादशमीको अवसरमा शुभकामना सन्देश दिँदै भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने दसैँले सबैलाई आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्ने प्रेरणा दिनुपर्ने बताएका छन्।

उनले विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

त्यस्तै, रोजगारी र आर्थिक अभावका कारण विदेशिन बाध्य नेपालीहरूको अवस्था स्मरण गर्दै आर्थिक समृद्धि र नागरिकको सुखद जीविकाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुनेमा समेत उनले जोड दिएका छन्।

प्रधानमन्त्री शाहले माता दुर्गाभवानीको कृपा सबैमा रहोस् भन्ने कामनासहित नेपालीहरूमा सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस