सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२०८३ कार्तिक १, ०१:१२ रासस

लमजुङ : हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् ।

कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ ।
विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँबस्ती नै रङ्गीन र चहलपहलपूर्ण देखिन्थेपरम्परागत शैलीमा घर पोत्ने चलन अहिले लगभग लोप भइसकेको छ । सिमेन्टले प्लास्टर गरिएका र आधुनिक रङ लगाइएका घर बढेसँगै दसैँको आगमनसँग जोडिएको गाउँको त्यो पुरानो रौनक पनि हराउँदै गएको छ ।
विगतमा दसैँ नजिकिएसँगै गाउँघरमा रातो माटो र कमेरो खोजेर ल्याउने, घरका भित्ता पोत्ने, ढोका–झ्यालमा  रँगाउने र बाटाघाटा सफा गर्ने चटारो हुन्थ्यो । गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउने चलन दसैँको तयारीसँगै जोडिएको थियो । केही वर्षदेखि लमजुङका गाउँबस्तीमा यो परम्परा क्रमशः हराउँदै गएको छ ।
आधुनिक घर निर्माण, सिमेन्टको प्रयोग, बजारमा पाइने रङको बढ्दो चलन र बसाइँसराइका कारण रातो माटो र कमेरोले घर पोत्ने परम्परा कमजोर बन्दै गएको स्थानीय बताउँछन्। कुनै समय गाउँका घरलाई दसैँका लागि नयाँ रूप दिने र छरछिमेकबीच सहकार्य बढाउने यो चलन अहिले विरलै देखिन थालेको छ ।

बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीलाई दसैँअघि गाउँमा हुने पुरानो चहलपहल अझै सम्झना छ । उनका अनुसार पहिले गाउँलेहरू आधा घण्टादेखि एक घण्टासम्म पैदल हिँडेर जङ्गलनजिकका ठाउँमा पुग्थे र घर पोत्न रातो माटो खनेर ल्याउँथे। त्यसपछि घरका भित्ता रातो माटो र कमेरोले पोत्ने, ढोका–झ्यालमा कालो रङ लगाउने तथा बाटोघाटो सफा गर्ने गरिन्थ्यो ।
घर पोत्ने काम घरधनीको मात्र जिम्मेवारी हुँदैनथ्यो । गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउँथे । घरमा वृद्धवृद्धा मात्रै रहेका वा आफैँले घर पोत्न नसक्ने परिवारलाई छिमेकीले माटो ल्याइदिने र आवश्यक सामग्री जुटाउन सहयोग गर्ने चलन थियो । पहिलेको जस्तो आपसी सहयोग र सहकार्य कमजोर हुँदै गएको तिवारीको अनुभव छ ।

रोजगारी तथा अन्य अवसरको खोजीमा परिवारका सदस्य गाउँबाहिर जाने क्रम बढेको, कतिपय घर खाली रहेको र कतिपयमा वृद्धवृद्धा मात्रै बस्ने गरेकाले गाउँको पुरानो चहलपहल घटेको उनले बताए ।
तिवारीको आफ्नै घरमा पनि यो परिवर्तन देखिएको छ । उनका अनुसार २०७२ सालको भूकम्पअघि उनको घर परम्परागत शैलीको थियो र त्यसमा रातो माटो तथा कमेरो पोत्ने गरिन्थ्यो । भूकम्पपछि नयाँ घर निर्माण गर्दा पुरानो बनावट कायम नरहेकाले अहिले पहिलेझैँ घर पोत्ने अवस्था नरहेको उनले बताए ।

दोर्दी गाउँपालिका–४, नौथरसेराका लक्ष्मण गुरुङका अनुसार पुराना घरको सङ्ख्या घट्दै जानु र नयाँ घरमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्नुले यो परम्परा हराउँदै गएको हो । पहिले गाउँका धेरैजसो घरमा रातो माटो र कमेरो पोतिने गरे पनि अहिले पुराना घरमा समेत सिमेन्टको प्लास्टर गर्ने चलन बढेको उनले बताए ।
बेँसीसहर नगरपालिका–३, गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने परम्परा कायम छ । लमजुङ दरबारनजिकै रहेको गाउँसहरका केही स्थानीयले परम्परागत शैलीमा घर पोतेर गाउँबस्ती सफा र आकर्षक राख्ने अभ्यासलाई निरन्तरता दिँदै आएका छन् ।
स्थानीय सुरेश श्रेष्ठका अनुसार गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने गरिन्छ ।  आधुनिक घर निर्माण बढ्दै जानु र पुराना घर भत्काएर नयाँ संरचना बनाउने क्रमले यो परम्परा पनि क्रमशः हराउने जोखिम बढेको उनले बताए ।

रातो माटो र कमेरोले घर पोत्ने चलन घर सजाउने तरिका मात्रै थिएन । यसमा स्थानीय स्रोतसाधनको प्रयोग, परम्परागत सीप र छरछिमेकबीचको सहकार्य जोडिएको थियो । दसैँअघि गाउँलेहरू मिलेर गर्ने कामले सामूहिकता र आपसी सहयोगलाई पनि बलियो बनाउँथ्यो । बदलिँदो ग्रामीण जीवनशैलीसँगै यो अभ्यास कमजोर हुँदा गाउँका भित्ताबाट रातो माटो र कमेरोको रङसँगै चाडपर्वमा मिलेर काम गर्ने पुरानो परम्परा पनि लोप भएको छ ।
 

कमेन्ट लोड गर्नुस