धनगढीमा भेटिएको झोला र नगदसहितको सुन प्रहरीलाई बुझाइयो, काजल विकलाई सामान लिन आग्रह
धनगढी: दसैँ मनाउन भारतको बैङ्गलोरबाट नेपाल फर्किने क्रममा कैलालीको जानकी गाउँपालिकाकी काजल विकको झोला धनगढीमा छुटेको छ। उक्त झोला भेट्टाएका धनगढीका अटो चालक निराजन विश्वकर्माले नगद र सुनसहित भन्सार प्रहरीलाई बुझाएका छन्।
गौरीफन्टा नाकाबाट धनगढी आउने क्रममा विकको झोला अटोमा छुटेको बताइएको छ। झोलामा सात हजार भारतीय रुपैयाँ र केही सुनसमेत रहेको जनाइएको छ।
झोला भेट्टाएपछि अटो चालक विश्वकर्माले इमानदारी देखाउँदै सम्बन्धित भन्सार प्रहरीलाई बुझाएका हुन्। झोलाको वास्तविक धनीलाई सामान फिर्ता गर्न सहज होस् भन्ने उद्देश्यले प्रहरीले काजल विकलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
सम्बन्धित व्यक्ति काजल विक वा उनका आफन्तले आवश्यक पहिचान खुल्ने विवरणसहित सम्बन्धित भन्सार प्रहरी कार्यालयमा सम्पर्क गरी झोला तथा त्यसमा रहेका सामान बुझिलिन सक्नेछन्।
त्यस्तै, काजल विकलाई चिन्ने व्यक्तिहरूलाई समेत यो सूचना उहाँसम्म पुर्याइदिन अनुरोध गरिएको छ।