सुदूर नेपाललाई विश्वसँग जोड्दै

परदेशको पसिना बोकेर घर फर्किँदैछन् दसैँका खुसी

२०८३ असोज २७, ११:१७ विन्दु चन्द

धनगढीः वर्षभरि भारतमा पसिना बगाए। परिवारबाट टाढा बसेर काम गरे। अहिले भने उनीहरूका पाइला घरतिर मोडिएका छन्। दसैँ मनाउन कैलालीको त्रिनगर–गौरीफन्टा नाका हुँदै सुदूरपश्चिमेलीहरू धमाधम स्वदेश फर्किरहेका छन्। लामो समयपछि परिवारसँग भेट्ने र आफ्नै गाउँघरमा दसैँ मनाउने खुसी उनीहरूको अनुहारमा झल्किन्छ।

डडेल्धुराका वीरबहादुर कामी दुई वर्षपछि घर फर्किँदै छन्। भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्दा उनी निकै खुसी देखिन्थे। लामो समयपछि परिवार र साथीभाइसँग भेट्ने अनि दसैँमा रमाउने उनको योजना छ। ‘म दुई वर्षपछि घर फर्किँदै छु। एकदमै उत्साह लागेको छ। घर गएर साथीभाइसँग भेट्छु, घुम्छु र रमाइलो गरेर दसैँ मनाउँछु,’ उनले भने।

वीरबहादुरका लागि दसैँ एउटा चाड मात्रै होइन, दुई वर्षदेखि टाढा रहेका आफन्तसँग भेट्ने अवसर पनि हो। ‘परदेशमा काम गर्दा घरपरिवारको सम्झना आउँछ,’ उनी भन्छन्, ‘चाडपर्वमा आफ्नै घर पुग्न पाउँदाको खुसीले भने परदेशको दुःख बिर्साइदिन्छ।’

गौरीफन्टा नाकामा देखिने यस्ता खुसीका कथा धेरै छन्। कोही परिवारसँग दसैँ मनाउन फर्किएका छन् त कोही खेतीपातीको काममा सघाउन र वर्षौँदेखिको सपना पूरा गर्न। भारतबाट घर फर्किएकी डोटीकी कौशिला बिकको योजना पनि यस्तै छ। उनी घर पुगेर खेतीपातीको काममा सघाउने र कमाएको पैसाले आफ्नै घर बनाउने सोचमा छिन्।

‘घर आउन पाउँदा धेरै खुसी लागेको छ। घर गएर खेतीपाती भित्र्याउँछौँ। कामको चटारो पनि छ, कामसँगै दसैँ मनाउँछौँ,’ आफ्नै घर बनाउने योजनाबारे उनले भनिन्, ‘अब घर बनाउनुपर्ने हो। घर बनाउनका लागि आएका हौँ।’ कौशिलाका लागि घर फर्किनु चाडपर्व मनाउनु मात्रै होइन, परदेशमा गरेको मेहनतलाई परिवारको भविष्यसँग जोड्ने अवसर पनि हो।

दसैँ नजिकिएसँगै गाउँघरमा धान भित्र्याउने, खर काट्ने र अन्य घरायसी कामको चटारो पनि बढेको छ। त्यसैले परदेशबाट फर्किनेहरूका लागि चाडपर्व मनाउनेसँगै परिवारको काममा सघाउने अवसर पनि बनेको छ। विद्यालय बिदा भएपछि आमाबुवासँगै भारत गएका बालबालिका पनि घर फर्किरहेका छन्। उनीहरूका लागि गाउँघरमा आफन्तसँग भेटघाट गर्ने र परिवारसँगै चाडपर्व मनाउने समय विशेष बनेको छ। गौरीफन्टा नाकामा दसैँ मनाउन स्वदेश फर्किने नेपालीको चहलपहल छ। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस