सुदूर नेपाललाई विश्वसँग जोड्दै

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

२०८३ असोज २७, ०९:२४ रासस

चितवन : भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।

 बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहककोमा भूमिगत विद्युत् जडानको काम भइरहेको छ ।

अहिले दैनिक १३ वटा हाराहारी मिटरमा लाइन जडानको काम भइरहेको छ । उनका अनुसार भूमिगत विद्युतीकरणअन्तर्गत १८ वटा फिडरमध्ये तीन वटामा लाइन जडानको काम बाँकी रहेको छ भने अन्यमा जडान गरी सकिएको छ । 
भूमिगत विद्युतीकरणअन्तर्गत भरतपुर महानगरपालिकाका एक हजार २४० ग्राहककोमा लाइन जडान गर्नुपर्ने हुन्छ । अहिलेसम्म आयोजनाले ९५ प्रतिशत काम सम्पन्न गरिसकेको उनले जानकारी दिए ।  भरतपुर महानगरभित्र विद्युत्ीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ ।

सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै रु १० करोड थप गरिएको हो ।
निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको हो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
 

कमेन्ट लोड गर्नुस