बुढीगण्डकी बाढीको जोखिमपछि आरुघाट बजार खाली गरिँदै
काठमाडौँः बुढीगण्डकी नदीमा आएको बाढीले जोखिम बढाएपछि नदी किनारमा रहेको आरुघाट बजार खाली गराउन थालिएको छ।
गोरखा र धादिङ जिल्लाको भूभागमा फैलिएको आरुघाट बजार बुढीगण्डकी नदीको किनारमा अवस्थित छ। यो बजार १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रसमेत हो। बाढीको जोखिम बढेपछि प्रशासनले सतर्क गराएको र स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेको स्थानीय व्यवसायी धर्मेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अहिले स्थानीवासी उच्च स्थानतर्फ सर्न थालेका छन् भने आरुघाट बजार खाली गरिँदैछ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बुढीगण्डकी नदीको जलसतहले खतरा तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले बाढीको बहाव नघटेसम्म त्रिशूली दोभानसम्म र नदी किनारका क्षेत्रमा नजान साथै सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।