सुदूरपश्चिमको बजेट आजै सार्वजनिक हुने सम्भावना क्षीण !
धनगढी: सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८३र८४ को बजेट आजै प्रदेशसभामा प्रस्तुत हुने सम्भावना क्षीण बनेको छ। प्रदेश सरकारले आज साँझ ५ बजे प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरे पनि विभिन्न विवादका कारण बजेट प्रस्तुत हुने–नहुने अन्योल कायमै छ। बजेट स्वीकृतिका लागि आवश्यक मन्त्रिपरिषद्को बैठकसमेत अहिलेसम्म बस्न सकेको छैन।
बजेट प्रदेशसभामा प्रस्तुत गर्नुअघि आर्थिक मामिला मन्त्रालयले तयार पारेको बजेट वक्तव्य, रातो किताब, विनियोजन विधेयक र आर्थिक विधेयकलगायतका कागजात मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने व्यवस्था छ। तर, मन्त्रिपरिषद्को बैठक नै बस्न नसकेपछि आज बजेट प्रस्तुत गर्ने सरकारको तयारी अन्योलमा परेको हो। ‘बजेट सार्वजनिक गर्न आज प्रदेशसभा बैठक बस्ने सम्भावना क्षिण छ,’ प्रदेशसभाका एक अधिकारीले भने।
सुदूरपश्चिम सरकारले समयमै बजेट पारित गर्न नसक्दा प्रदेश साउन १ गतेदेखि नै बजेटविहीन अवस्थामा छ। बजेट नहुँदा विकास आयोजना कार्यान्वयन, कार्यालय सञ्चालन तथा कर्मचारी र पदाधिकारीको तलबभत्तासमेत प्रभावित भएको छ।
यसैबीच, अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि बजेट प्रक्रियामा थप अन्योल सिर्जना भएको छ। अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेको हो। मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म प्रदेशसभामा प्रस्तुत गरिएको बजेटसम्बन्धी नयाँ प्रक्रिया अघि नबढाउन सर्वोच्चले आदेश दिएको अधिवक्ता उपाध्यायले बताए। अघिल्लो सरकारले नै ल्याएको बजेट अगाडि मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म कायम राख्न आदेश भएको उपाध्यायले बताए।
यसअघि बजेट बाँडाफाडका विषयमा सत्तारुढ दुई दलबीच विवाद रहेकोमा आज आएको अन्तरिम आदेशले थप अन्योल सृजना गरेको छ। अब कसरी अगाडि बढ्ने विषयमा मुख्यमन्त्री खगराज भट्ट र प्रमुख सचिवबीच छलफल भइरहेको बताइएको छ।
अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो। तर, उक्त बजेट पारित हुन नसक्दा तत्कालीन सरकार ढलेको थियो। त्यसयता सुदूरपश्चिम प्रदेश बजेट शून्यताको अवस्थामा छ।