धनगढीको जुगेडामा २५ गतेदेखि ‘रामलीला तथा साँस्कृतिक कार्यक्रम' हुँदै
धनगढीः धनगढी उपमहानगरपालिका १२ जुगेडामा यही असोज २५ गतेदेखि ‘रामलीला तथा साँस्कृतिक कार्यक्रम' हुने भएको छ।
कार्यक्रम जुगेडा राइजिङ युवा क्लब र निःशुल्क ज्येष्ठ नागरिक चियाघरको संयुक्त आयोजनामा हुने भएको हो। आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने, स्थानीय कलाकार तथा युवाको प्रतिभा प्रस्फुटन तथा समुदायलाई सांस्कृतिक गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लवका सचिव किशोरकुमार जोशीले बताए।
उनले कार्यक्रकमा नेपाल तथा भारतका दर्शकको समेतको सहभागिता रहने अपेक्षा गरिएको बताए। कार्यक्रम करिब १४ लाख लागतमा सम्पन्न हुने अपेक्षा गरिएको बताउँदै कार्यक्रमको मुख्य प्रायोजक मयुर डेरी रहेको बताए। कार्यक्रममा निःशुल्क प्रबेशको व्यवस्था गरिएको उनले बताए। कार्यक्रमका निर्देशक खुमदत्त सञ्जेलले रामलीलाको कथाबस्तु आदिकवि भानुभक्त आचार्य नेपाली रामायणबाट तयार गरेको बताए।
उनले रामलिला नेपाली भाषा लेखिएको र श्रीराम भगवानको जीवनीमा आधारित नाटक जस्तो रहेको बताए। युवालाई सामाजिक, धार्मिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय गराइ सकारात्मक परिवर्तनमा सहभागी गराउने लक्ष्य रहेको क्लवका अध्यक्ष रामचन्द्र भट्टले बताए। कार्यक्रम आगामी कार्तिक ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।