प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
काठमाडौँ : प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गर्नुभएको छ ।
बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा उनि साताव्यापी औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाए ।
प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो ।
उक्त भ्रमणले सदियौँदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उहाँको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।