बिपी राजमार्ग खुलाउने प्रयास जारी
बनेपा (काभ्रे) : पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ–ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको छ ।
उक्त राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
डिभिजन सडक कार्यालय, भक्तपुरको टोली आज बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ । मौसमले साथ दिएमा भोलि असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको उनले बताए ।
पछिल्लो केही दिनको वर्षाले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या फेरि सतहमा ल्याएको छ ।
विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पु¥याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ । सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गरिएको थियो ।
देशको पूर्वी तथा मध्य क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने महत्वपूर्ण जीवनमार्गका रूपमा रहेको बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो ।
राजधानीसँग तराई तथा पूर्वी जिल्लाको यातायात, व्यापार तथा दैनिक जनजीवन जोड्दै आएको छ । राजमार्गमा हुने अवरोधबाट यात्रु र चालकसँगै स्थानीय बस्ती तथा व्यापार–व्यवसायमा पनि प्रत्यक्ष असर पर्ने छ ।