ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
ताप्लेजुङ: मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० वटा घर जलेर क्षति भएको छ। आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रारम्भिक जानकारी आएको छ।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।
करिब ५० घरधुरी रहेको दोभानमा आगो अन्य घरतर्फ फैलिन नदिन सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरिरहेका छन्। आगो नियन्त्रणमा लिन दमकलसमेत प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन्।