बिहिबार देखी टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीकाे आग्रह
काठमाडौं : बिहीबारदेखि टाढा तथा रातिको समयमा यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि असोज १२ गतेसम्म यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्य तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ।
महासंघले अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न सर्वसाधारणलाई समेत अनुरोध गरेको छ। साथै, बिहीबारदेखि रातिको समयमा यात्रा नगर्न पनि आग्रह गरिएको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सरोकारवाला निकायलाई यस्तै आग्रह गरिसकेको थियो। प्राधिकरणको अनुरोधअनुसार महासंघले आफ्ना सदस्यलाई सचेत गराएको जनाएको छ।
यस साता देशका विभिन्न स्थानमा अविरल वर्षा हुने सम्भावना रहेकाले सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै सरकारले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।