जापानमा पहिलोपटक ‘सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ हुँदै, बाढीपीडितका लागि अभियान सञ्चालन
धनगढी :सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, भाषा, भेषभूषा र मौलिक पहिचानलाई प्रवासमा प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले जापानमा पहिलोपटक ‘सुदूरपश्चिम सांस्कृतिक साँझ–२०२६’ आयोजना हुने भएको छ ।
सुदूरपश्चिम नेपाली समाज जापानको आयोजनामा आगामी अक्टोबर ११, २०२६ अर्थात् असोज २५ गते आइतबार टोकियोस्थित मेगुरो पर्सिमोन हलमा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने आयोजकले जनाए ।
सुदूरपश्चिमका मौलिक कला, संस्कृति, लोकसंगीत, लोकनृत्य, भाषा, भेषभूषा तथा परम्परालाई जापानमा रहेका नेपाली समुदायमाझ चिनाउने र विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो जन्मभूमिको सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकार चक्र बम र रेखा जोशीको विशेष प्रस्तुति रहनेछ । उनीहरूसँगै सुदूरपश्चिमको मौलिक लोकसंस्कृति र परम्परा झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाए ।
कार्यक्रमलाई जापानमा रहेका सुदूरपश्चिमेलीबीच आपसी एकता, भाइचारा र सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा समेत लिइएको छ । प्रवासमा रहे पनि आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानलाई निरन्तरता दिन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल भावसहित आयोजना हुने कार्यक्रममा सांस्कृतिक संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोडिएको छ । कार्यक्रममार्फत बाढीपीडितका लागि सहयोग तथा राहत अभियान सञ्चालन गर्ने तयारीसमेत गरिएको आयोजकले जनाए । सांस्कृतिक कार्यक्रमसँगै विपद्मा परेका नागरिकका लागि सहयोग जुटाउने उद्देश्यले ‘बाढीपीडितका लागि हाम्रो अभियान’लाई अघि बढाइने भएको हो ।
विशेषगरी नेपालमा पछिल्लो समय बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले जापानमा रहेका नेपाली तथा सुदूरपश्चिमेली समुदायबाट सहयोग संकलन तथा अभियान सञ्चालन गरिने जनाए ।
यस्तै, टोकियोमा हुने कार्यक्रमको भोलिपल्ट अक्टोबर १२, २०२६ मा जापानको ओसाकामा पनि सुदूरपश्चिम केन्द्रित सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । टोकियो र ओसाकामा हुने कार्यक्रममार्फत जापानका विभिन्न क्षेत्रमा रहेका सुदूरपश्चिमेली तथा नेपाली समुदायलाई सांस्कृतिक रूपमा जोड्ने प्रयास गरिएको आयोजकले जनाए ।
विदेशमा हुर्किरहेका बालबालिका तथा युवापुस्तालाई सुदूरपश्चिमको मौलिक संस्कृति, चाडपर्व, लोकगीत, लोकनृत्य, भाषा र परम्पराबारे जानकारी गराउँदै पुस्तान्तरण गर्ने माध्यमका रूपमा कार्यक्रमलाई अघि बढाइएको आयोजकको भनाइ छ ।
सुदूरपश्चिम नेपाली समाज जापानले कार्यक्रममा जापानमा रहेका सम्पूर्ण नेपाली तथा सुदूरपश्चिमेली समुदायलाई सहभागी हुन आग्रह गरेको छ । साथै कार्यक्रमको प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यमलाई समेत अनुरोध गरेको छ ।