परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरे ।
उनले विपद्बाट प्रभावितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै विपद्को यस घडीमा जापान नेपालसँगै रहेको बताए । मन्त्री खनालको सचिवालयले जनाए ।
त्यसअवसरमा उनले जापानले आपत्कालीन अवस्थादेखि दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
भेटवार्तामा परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि ज्ञापन गरे ।
उनले विपद्मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसमेतको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी गराए ।
एक अर्काे प्रसङगमा जापानका विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे ।
एनले आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिबल’ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
उनले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग जापानले नेपालका विकास प्रयासमा निरन्तर सहयोग गर्ने बताए ।
त्यसअवसरमा परराष्ट्रमन्त्री खनालले जापानको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुइदेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा नेपाल–जापान सम्बन्धलाई थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताए । मन्त्री खनालको सचिवालयले जनाए ।