के चालकले नै बसमा आगो लगाए?
त्रिपुरेश्वरमा बसभित्रै आगलागी, चालक नभागेपछि प्रहरीको आशंका–‘चालकबाटै आगजनी भएको देखिन्छ’
काठमाडौंः काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि रोकिएको बसमा आगलागी भएपछि चालकले नै आगो लगाएको हुनसक्ने आशंका गरिएको छ ।
बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक बसभित्रै थिए। आगो लागेपछि पनि चालक नभागेको र घटनास्थलमै रहेको आधारमा चालक आफैँले बसमा आगजनी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले पनि चालकबाटै आगजनी भएको हुनसक्ने आशंका गरिएको बताएका छन्।
उनका अनुसार घटनाको यकिन कारण भने विस्तृत अनुसन्धानपछि मात्रै खुल्नेछ। अहिलेसम्मको अनुसन्धानमा चालकबाटै आगजनी भएको देखिएको उनको भनाइ छ।
प्रहरीले आगलागीको कारण भने अहिलेसम्म यकिन गर्न सकेको छैन। यद्यपि, ट्राफिक प्रहरीसँग भएको विवादपछि चालकले बसमा आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
बसका चालक काभ्रेका २५ वर्षीय दावा लामा रहेको प्रहरीले जनाएको छ। आगलागीमा परेका लामालाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ।
बसमा लागेको आगो सशस्त्र प्रहरीको टोलीले दमकलको सहायतामा नियन्त्रणमा लिइसकेको छ।
घटनामा चालकको भूमिका के थियो, आगजनी नै गरिएको हो भने त्यसको कारण के थियो भन्ने विषय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक आशंका चालकतर्फ केन्द्रित भए पनि घटनाको अन्तिम तथ्य भने अनुसन्धानपछि मात्रै खुल्नेछ।