सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग

२०८३ भदौ २१, ०५:२९ खबर संवाददाता

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । पाठकले आइतबार प्रेस विज्ञप्ति निकालेर पार्टी सदस्यसमेत नरहने अलग रहेको जानकारी गराएका हुन् ।

राप्रपालाई समयानुकूल पुनर्संरचना गरी सुशासनप्रति इमानदारीपूर्वक प्रतिबद्ध तथा सबै उमेर, वर्ग, समुदाय र भूगोलका जनताले भरोसा गर्न सक्ने दलका रूपमा रूपान्तरण गर्ने सहमतिबाट करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारी सम्हालेको उनले बताएका छन् ।

राप्रपासँगको एकताको आधार अनुसार यो अवधिमा ठोस कार्य हुन नसकेको हुँदा पार्टी छोडेको घोषणा गरेका छन् । पाठक राप्रपाका पूर्व नेता रवीन्द्र मिश्रसँगै राप्रपामा जोडिएका थिए ।

‘यो अवधिमा त्यस दिशामा ठोस परिणाममुखी काम नै हुन सकेन । पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रह्यो । ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो,’ भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव छ,’ पाठकले दल परित्याग गर्दै लेखेका छन् ।

राप्रपामा केन्द्रमा दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो रहेको पाठकले टिप्पणी गरेका छन् ।

केन्द्रमा रहेको समस्याले नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई छिटपुट अपवादबाहेक आकर्षित गर्नै नसक्ने स्थिति रहेको उनले बताए । 

कमेन्ट लोड गर्नुस