अत्तरियामा ‘अनिरुद्ध खेल पाठ’ सञ्चालनमा, खेलाडी उत्पादनमा जोड
धनगढी: कैलालीको अत्तरियामा ‘अनिरुद्ध खेल पाठ’ सञ्चालनमा आएको छ । धनगढीमा सञ्चालित जीडी ग्रुप कम्पनीले ‘अनिरुद्ध पुस्तक पसल’को शाखाका रूपमा अत्तरियामा खेलकुद सामग्री तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले ‘अनिरुद्ध खेल पाठ’ सञ्चालनमा ल्याएको हो ।
अत्तरिया–पहाड रोडस्थित कबिर कम्प्लेक्स नजिकै स्थापना गरिएको खेल पाठको आइतबार औपचारिक उद्घाटन गरिएको छ । सैनिक आवासीय महाविद्यालय, तेघरीका व्यवस्थापन प्रमुख लेफ्टिनेन्ट कर्णेल खिलबहादुर रानाले खेल पाठको उद्घाटन गरेका हुन् ।
अनिरुद्ध जीडी ग्रुपले सञ्चालनमा ल्याएको यो तेस्रो शाखा हो । शाखा विस्तारसँगै कैलालीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका खेलाडी, विद्यार्थी तथा खेलकुदप्रेमीले आवश्यक खेलकुद सामग्री र पाठ्यसामग्री स्थानीयस्तरमै सहज रूपमा प्राप्त गर्न सक्ने सञ्चालक टेकराज धिक्तले बताए ।
भारत तथा अन्य टाढाका बजारमा खेलकुद सामग्री खरिद गर्न जानुपर्ने बाध्यता अन्त्य गर्नुका साथै युवामा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले खेल पाठ सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
स्थानीयस्तरमै खेलाडी उत्पादन गर्ने र खेलकुदका गतिविधिलाई व्यवस्थित बनाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको खेल पाठमा खेलकुदमा रुचि राख्ने बालबालिका तथा युवालाई प्रशिक्षण र अभ्यासका लागि आवश्यक सामग्री तथा उपयुक्त वातावरण उपलब्ध गराउने योजना रहेको सञ्चालकले बताएका छन् ।
सुदूरपश्चिमका पहाडी तथा तराईका विभिन्न जिल्लालाई जोड्ने प्रमुख केन्द्रका रूपमा अत्तरिया विकास हुँदै गएकाले खेलकुदसम्बन्धी सेवा विस्तारका लागि अत्तरिया रोजिएको सञ्चालक धिक्तको धारणा छ ।
खेलकुद सामग्रीको सहज उपलब्धतासँगै स्थानीय प्रतिभाको पहिचान, प्रशिक्षण र खेलाडी उत्पादनमा समेत खेल पाठले योगदान पुर्याउनेमा आस गर्न सकिन्छ ।