भोटेकोशी बाढी: ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति?
काठमाडौँ: भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ। नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो।
वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई र इटलीका दुईजनाको उद्दार गरिएको छ।
यस्तै, देशको नाम नखुलेका तीन जनाको समेत उद्दार गरिएको छ। निमित्त सिईओ ऐरले अन्य हराएका पर्यटकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिए । यसबाहेक ट्रेकिङ कम्पनी, गाईड र सुरक्षा निकायले प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा स्थानीयको उद्धारका लागि प्रयास गरिरहेका छन्।
पर्यटन बोर्डले हराइरहेका व्यक्तिको विवरण सङ्कलन र प्रमाणीकरणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको र सूचनाहरू अध्यावधिक गरिरहेको जनाएको छ। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ।