सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवा बाढी: उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन

२०८३ भदौ १०, १०:५२ खबर संवाददाता

धनगढीः रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्। प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति परिचालन भइसकेको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको र मेडिकल टिम, नेपाल स्काउट तथा नेपाल रेडक्रससँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको बताएका छन्। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ।

बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। साथै, एसएमएस तथा फोनमार्फत प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी गराउँदै सुरक्षित स्थानमा जान सचेत गराइएको प्रधानमन्त्री शाहले बताएका छन्।

सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको उनले बताएका छन्।
आगामी आवश्यक कदमबारे निर्णय गर्न केही बेरमै उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

उनले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सरकारी निकायबाट आउने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। राहत तथा अन्य आवश्यक जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने पनि उनले बताएका छन्।

कमेन्ट लोड गर्नुस