सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वप्रसिद्ध रेस्लरसँगको अप्रत्याशित भेट

२०८३ भदौ ३, ११:३७

जनक भण्डारीः यो संस्मरण लेखकको व्यक्तिगत अनुभवमा आधारित हो। घटनाको मूल सार यथार्थ भए पनि समय, संवाद तथा केही विवरण स्मृतिका आधारमा प्रस्तुत गरिएका छन्।

जीवनमा कहिलेकाहीँ यस्ता क्षणहरू आउँछन्, जहाँ आँखाले देखेको दृश्य र मनले विश्वास गरेको सत्यबीच मेल खान सक्दैन।

कल्पना गर्नुहोस्—यदि कुनै विश्वप्रसिद्ध खेलाडी वा सेलिब्रेटी साधारण हाफ पाइन्ट र टी–सर्ट लगाएर तपाईंको स्थानीय बजारमा निस्फिक्री किनमेल गर्दै हिँडिरहेको देख्नुभयो भने, तपाईंको पहिलो प्रतिक्रिया कस्तो होला?

मानौं, बलिउड अभिनेता सलमान खान आफ्नै स्थानीय तरकारी बजारमा सामान्य मानिसझैँ किनमेल गरिरहेका छन्। के तपाईं पहिलो नजरमै ढुक्क भएर भन्न सक्नुहुन्छ, 'उहाँ त सलमान खान नै हुनुहुन्छ'? वा 'सलमान खानजस्तै त देखिन्छ, कतै उहाँ नै पो हो कि?' भन्ने दोधारमा पर्नुहुन्छ? अथवा 'यस्तो जिउडाल भएको अर्को व्यक्ति पनि हुन सक्छ' भन्ने सोच आउँछ?

सायद, केही क्षणका लागि जोसुकै अलमलमा पर्छ। किनकि असाधारण व्यक्तिलाई अत्यन्तै साधारण परिवेशमा देख्दा मनले सहजै विश्वास गर्न सक्दैन।

यही कारणले आज म आफ्नो जीवनको एउटा अविस्मरणीय अनुभव साझा गर्दैछु।

कुरा सन् २०१७/१८ तिरको हो। म लगायत केही नेपाली साथीहरू संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित प्रसिद्ध मदिना जायद मलमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थियौँ। त्यसबेला यो मल निकै चर्चित थियो। दैनिक हजारौँ मानिस किनमेलका लागि मात्र होइन, मलभित्र रहेको गोलाकार (Round Shape) एस्केलेटर हेर्नकै लागि पनि आउने गर्थे। त्यस्तो एस्केलेटर सिंगो यूएईमै त्यही एउटा मात्र रहेको चर्चा सुनिन्थ्यो।

एक दिन दिउँसो करिब तीन बजेतिर हामी सबै आ–आफ्नो जिम्मेवारीअनुसार ड्युटी पोस्टमा खटिएका थियौँ। त्यही बेला साधारण पहिरनमा रहेका तीन जना गोरा वर्णका पुरुष मलभित्र प्रवेश गरे।

उनीहरूमध्ये एक जनाको अनुहार, जिउडाल र हिँडाइ विश्वप्रसिद्ध रेस्लर जोन सिनासँग हुबहु मिल्थ्यो। उनलाई देख्नेबित्तिकै पसले र ग्राहकहरू एक–अर्कासँग खुसुक्क भन्न थाले,'तीमध्ये एक जना त जोन सिनाजस्तै देखिन्छ!'

तर कसैले पनि उनी साँच्चिकै जोन सिना नै हुन् भनेर ठोकुवा गर्ने आँट गरेन। कसैले भन्यो, 'होइन होला, एउटै अनुहार भएका मानिस धेरै हुन्छन्।' अर्काले फेरि भन्यो, 'तर हेर्दा त जोन सिना नै जस्तो लाग्छ!'

यस्तै कानेखुसी र अनुमानबीच केही क्षणमै मलभित्र अनौठो कौतुहल फैलियो। उनीहरू जहाँ–जहाँ पुग्थे, त्यहाँ मानिसहरूको जमात बढ्दै गयो। सबैका आँखा उनीहरूमै केन्द्रित थिए, तर कसैले पनि नजिक गएर 'तपाईं जोन सिना नै हो?' भनेर सोध्ने साहस जुटाउन सकेन।

अचानक बढ्दै गएको अस्वाभाविक भीडले हाम्रो सेक्युरिटी टोलीको ध्यान पनि तानिसकेको थियो। ड्युटीमा रहेका गार्डहरूले तत्काल रेडियोमार्फत सेक्युरिटी कन्ट्रोल रुमलाई जानकारी गराए।

दृश्य निकै रोचक थियो। अगाडि ती तीन जना सामान्य मानिसझैँ निस्फिक्री हिँडिरहेका थिए भने पछाडि उनीहरूलाई पछ्याउँदै उत्सुक मानिसहरूको लामै लस्कर थियो। हामी सेक्युरिटी गार्डहरू भने भीडलाई व्यवस्थित राख्दै उनीहरूको सुरक्षामा खटिएका थियौँ।

केहीबेरपछि ती तीन जना पहिलो तलामा रहेको Mohan’s Shirting & Suiting नामक कपडा पसलभित्र प्रवेश गरे। कन्ट्रोल रुमले तत्काल सम्पूर्ण अवस्थाबारे क्लाइन्ट सेक्युरिटी म्यानेजर, इजिप्टका नागरिक मिस्टर इस्लामलाई जानकारी गरायो।

उहाँ स्वयं पसलभित्र पुगेर ती व्यक्तिहरूसँग परिचित हुनुभयो। केही क्षणको कुराकानीपछि सबैको अनुमान सत्य सावित भयो।

उनीहरूमध्ये एक जना साँच्चिकै विश्वप्रसिद्ध रेस्लर जोन सिना नै रहेछन्।

त्यसपछि मिस्टर इस्लामले रेडियोमार्फत सम्पूर्ण सेक्युरिटी टोलीलाई निर्देशन दिनुभयो, 'Message for all Security, please stay alert.' (सम्पूर्ण सेक्युरिटी टोलीलाई सूचना—सबैजना आ–आफ्नो ड्युटी पोस्टमा पूर्ण रूपमा सतर्क रहनुहोस्।)

त्यो सन्देशसँगै सम्पूर्ण सेक्युरिटी टोली झन् सतर्क बन्यो। अब हाम्रो एउटै जिम्मेवारी थियो—विश्वप्रसिद्ध पाहुनाको सुरक्षासँगै मलभित्रको शान्ति र व्यवस्थालाई कुनै पनि हालतमा कायम राख्नु।

उता जोन सिना भने पसलभित्र शर्टिङ र सुटिङका कपडा छनोट गर्न व्यस्त हुनुहुन्थ्यो। बाहिर भने उहाँलाई एक झलक हेर्न मानिसहरूको भीड लगातार बढिरहेको थियो। ग्राहक मात्र होइन, मलका व्यापारीहरू पनि उहाँलाई हेर्न उत्सुक थिए। हामी सेक्युरिटी गार्डहरू पनि उहाँलाई नजिकबाट देख्ने अवसरको प्रतीक्षामा थियौँ।

मदिना जायद मल अबुधाबीका पुराना तथा ठूला मलहरूमध्ये एक हो। यसमा १५ वटा प्रवेशद्वार थिए। त्यस दिन शुक्रबार (जुम्मा) भएकाले बिदाको अवसरमा मलमा आउनेहरूको संख्या सामान्य दिनभन्दा निकै बढी थियो। जोन सिना आएको खबर फैलिसकेपछि परिस्थिति झन् संवेदनशील बन्दै गयो।

क्लाइन्ट सेक्युरिटी म्यानेजरको निर्देशनअनुसार गेट नम्बर १ बाहेक अन्य सबै प्रवेशद्वार तत्काल बन्द गरियो, ताकि थप मानिसहरूको प्रवेश रोक्न सकियोस्। त्यसपछि हाम्रो सम्पूर्ण ध्यान जोन सिनाको सुरक्षा र मलभित्रको भीडलाई शान्त तथा व्यवस्थित राख्नमा केन्द्रित भयो।

उता जोन सिना भने पसलभित्र किनमेलमै व्यस्त देखिनुहुन्थ्यो। तर उहाँ लामो समयसम्म त्यहीँ बसिरहनुको कारण केवल किनमेल मात्र थिएन। पसल बाहिर उहाँलाई एक झलक हेर्न हजारौँ फ्यानको भीड जम्मा भइसकेको थियो। यस्तो अवस्थामा बाहिर निस्कनेबित्तिकै भीड अनियन्त्रित हुन सक्ने सम्भावना थियो। त्यसैले उपयुक्त सुरक्षा व्यवस्था नभएसम्म पसलभित्रै बस्नु उहाँका लागि बाध्यता बनेको थियो।

क्लाइन्ट सेक्युरिटी म्यानेजर मिस्टर इस्लाम पनि जोन सिनालाई कुनै हल्लाखल्ला वा अवाञ्छित घटना नघटाई सुरक्षित रूपमा मलबाट बाहिर पठाउने विषयमा अत्यन्त संवेदनशील हुनुहुन्थ्यो। उहाँले तुरुन्तै सम्पूर्ण सेक्युरिटी टोलीलाई भेला गरेर आवश्यक ब्रिफिङ गर्नुभयो।

योजनाअनुसार मलको माथिल्लो तलामा रहेका प्रत्येक फायर एक्जिटमा एक–एक जना सेक्युरिटी गार्ड खटाइयो। मलाई फायर एक्जिट नम्बर २ मा जाने जिम्मेवारी दिइयो। मेरो रेडियो कल–साइन “Alpha Two” थियो। अर्का नेपाली साथी रविन्द्र रोक्कालाई फायर एक्जिट नम्बर ७ मा खटाइयो भने रिकबहादुर शाहीलाई फायर एक्जिट बाहिरको अवस्थाको निगरानी गर्ने जिम्मेवारी दिइयो। बाँकी विजय गुरुङ्ग लगायतका सुरक्षाकर्मीहरूलाई मलभित्रको भीड नियन्त्रणमा परिचालन गरियो।

हाम्रो टोली विभिन्न देशका सुरक्षाकर्मीहरूबाट बनेको भए पनि मिस्टर इस्लाम नेपाली सुरक्षाकर्मीहरूप्रति विशेष विश्वास राख्नुहुन्थ्यो। उहाँको योजना निकै चतुर थियो। उहाँलाई थाहा थियो, अधिकांश मानिसले जोन सिना मुख्य प्रवेशद्वार अर्थात् गेट नम्बर १ बाटै बाहिर निस्कनुहुन्छ भन्ने अनुमान गर्नेछन्। त्यसैले भीड स्वाभाविक रूपमा त्यहीँ केन्द्रित हुने निश्चित थियो।

ठ्याक्कै त्यही भयो। केहीबेरमै अधिकांश भीड गेट नम्बर १ वरिपरि जम्मा भयो। त्यही अवसरको सदुपयोग गर्दै सेक्युरिटी टोलीले जोन सिनालाई बीचमा राखेर सुरक्षा घेरा बनायो र गोप्य रूपमा फायर एक्जिट नम्बर ७ हुँदै सुरक्षित बाहिर निकाल्यो। उहाँलाई सुरक्षित रूपमा बाहिर निकाल्ने टोलीमा नेपाली सुरक्षाकर्मी रविन्द्र रोक्का र रिकबहादुर शाहीको भूमिका विशेष रूपमा उल्लेखनीय थियो।

त्यसपछिको दृश्य झन् रोचक र अप्रत्याशित थियो। फायर एक्जिट नम्बर ७ मलको पछाडिपट्टि रहेको सामान ओसारपसार तथा रिसिभिङ हुने क्षेत्रमा पर्थ्यो। कडा सुरक्षा व्यवस्थाबीच हामीले जोन सिनालाई सुरक्षित रूपमा त्यहाँसम्म पुर्‍यायौँ।

त्यहाँ पुगेपछि उहाँले मुस्कुराउँदै सबै सुरक्षाकर्मीलाई “Thanks!” भन्नुभयो र एक–एक जनासँग हात मिलाउनुभयो। त्यसपछि उहाँ सिधै नजिकै पार्किङमा रोकिएको सेतो रंगको एउटा सानो डेलिभरी भ्यानतर्फ लाग्नुभयो। त्यो भ्यान सामान्यतया खाद्यान्न, तरकारी तथा अन्य सामग्री ओसारपसार गर्न प्रयोग हुने साधारण व्यावसायिक सवारी थियो।

हामीले त उहाँ कुनै लक्जरी एसयूभी वा महँगो कारमा प्रस्थान गर्नुहुन्छ भन्ने अनुमान गरेका थियौँ। तर हाम्रो अनुमानलाई गलत सावित गर्दै उहाँले त्यो साधारण डेलिभरी भ्यानको ढोका खोल्नुभयो, भित्र पस्नुभयो र केही क्षणमै त्यही भ्यान आँखाबाट ओझेल पर्‍यो।

हामी भने केही क्षण त्यहीँ स्तब्ध भएर एक–अर्काको अनुहार हेर्दै बस्यौँ।

त्यतिबेला मात्र एउटा कुरा स्पष्ट भयो—विश्वप्रसिद्ध रेस्लर जोन सिना डेलिभरी भ्यानमा पनि यात्रा गर्न सक्ने व्यक्ति रहेछन्।

र,त्यो दिन मैले एउटा गहिरो सत्य पनि बुझेँ—महानता मानिसले चढ्ने गाडी, लगाउने पहिरन वा देखाउने तडकभडकले होइन, उसको व्यवहार र सरलताले चिनिन्छ। संसारभर चिनिने जोन सिना त्यस दिन मेरो आँखामा केवल एक विश्वप्रसिद्ध रेस्लर मात्र होइन, विनम्र र साधारण जीवनशैलीलाई सम्मान गर्ने व्यक्तित्वका रूपमा बस्नुभयो।

कमेन्ट लोड गर्नुस