सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर भन्सारमा कडाइ,जनचेतनाको अझै अभाव

२०८३ साउन २७, ०४:२५ लक्ष्मण ढुङ्गाल

धनगढी।  त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट घरायसी सामान ल्याउने विषयमा नागरिक र सुरक्षाकर्मीबीच अझै समन्वय हुन सकेको छैन। सरकारले तोकेको भन्सारसम्बन्धी नियमबारे पर्याप्त जनचेतना नहुँदा नाकामा यात्रुले सास्ती खेप्नुका साथै सुरक्षाकर्मीसँग विवादसमेत हुँदै आएको छ।

भारतको बनगाउँ बजारमा दैनिक घरायसी सामान खरिद गर्न धनगढी तथा आसपासका नागरिक जाने गरेका छन्। पाँच सय रुपैयाँसम्म मूल्य बराबरको सामान सहजै ल्याउन सकिने प्रावधान रहे पनि त्यसभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियम छ। तर, उक्त नियमबारे जानकारी नहुँदा कतिपय यात्रुले नाकामै सामान फिर्ता लैजानुपर्ने अवस्था आउने गरेको बताएका छन्।

कतिपय यात्रु भन्सार महसुल तिर्नुभन्दा सामान फिर्ता गर्न पुनः बनगाउँ बजार जाने गरेका छन्। रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किंदा समेत घरायसी सामानको सीमाबारे जानकारी नहुँदा नाकामै अलमलिनुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ।

भारतको दिल्लीबाट रोजगारी गरेर घर फर्किएका सुरेन्द्रबहादुर विक पनि सामानको सीमाबारे जानकारी नहुँदा त्रिनगर नाकामा केही समय अलमलिनुपर्‍यो। सुरक्षा जाँचका क्रममा उनको झोलाबाट डेढ लिटर अर्थात् तीन पोका खाने तेल भेटिएपछि नेपाल प्रवेश सामान रोक लगाइएको उनले बताए।

घरपरिवारका लागि थोरै मात्रामा भान्साका सामग्री ल्याउँदा समेत रोक लगाइएपछि आफू निराश भएको विकले गुनासो गरे । उनीजस्तै रोजगारी तथा अन्य कामका लागि भारत गएका नेपालीहरू दैनिकजसो यही नाकाबाट स्वदेश फर्किने गरेका छन्।

यता, सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगर, कैलालीले भने सरकारले तोकेको नियम कार्यान्वयन गर्नु आफ्नो दायित्व भएकाले नाकामा कडाइ गरिएको जनाएको छ। नाकाबाट अवैध कारोबार तथा ओसारपसार, धूम्रपानजन्य सामग्री, हातहतियारलगायत प्रतिबन्धित वस्तु नेपाल भित्रिन नदिन सुरक्षा जाँच कडाइ गरिएको सुरक्षाकर्मीको भनाइ छ।

नाकामा सुशासन कायम गर्ने तथा अवैध कारोबार नियन्त्रणसँगै नेपाली स्थानीय व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले पछिल्लो केही महिनादेखि सीमा नाकामा निगरानी र जाँच थप कडा बनाइएको बताइएको छ। अहिले परिचयपत्रका आधारमा नेपाल प्रवेश गर्ने व्यवस्थासमेत कडाइका साथ कार्यान्वयन गरिएको छ।

तर, स्थानीय नागरिकले भने अवैध सामानको ओसारपसार रोक्न कडाइ गर्नुपर्ने भए पनि सामान्य घरायसी प्रयोजनका सामान ल्याउने नागरिकलाई सहजीकरण गर्नुपर्ने माग गरेका छन्। विशेषगरी भारतमा रोजगारी गरेर घर फर्किने नेपालीलाई नियमबारे नाकामै स्पष्ट जानकारी दिने व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ।

नागरिकमा पर्याप्त जानकारी नहुँदा नाकामा विवाद र असहजता बढिरहेको भन्दै भन्सार तथा सुरक्षा निकायले नियमबारे व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको छ। नियमको स्पष्ट जानकारी पाए यात्रु र सुरक्षाकर्मीबीच हुने अनावश्यक विवादसमेत कम हुने नागरिकहरुको भनाइ छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस