कैलालीमा अपराध बढ्यो कि प्रहरी सक्रियता ?
भदौ २२ गते मध्यरातमा धनगढी उप–महानगरपालिका वडा नम्वर ७ मा १७ बर्षीय युवतीको सुतिरहेको अवस्थामै नक्कली प्रहरी बनेर अपहरण भयो। अपहरणमा संग्लन तीन जनालाई पक्राउ गर्न र युवतीको उद्धार गर्न कैलाली प्रहरीले झण्डै २० घण्टा मात्रै लगायो। यो घटनामा एकातिर कैलाली प्रहरी युवतीको उद्धार गर्दै दोषीलाई पक्राउ गर्न सफल भएको देखिएको छ भने अर्को तर्फ प्रदेशको अस्थायी राजधानी भएको सहरमै नक्कली प्रहरी बनेर अपहरण हुनुले जिल्लाको सुरक्षा व्यवस्थाप्रति प्रश्न समेत खडा गरेको छ।
गत बिहीबार राति धनगढीबाटै सञ्जय राना सहित तीन पक्राउ परे। उनीहरुसंगै अवैध हतियार मात्रै होईन सुन, स्थानीय तह, मन्त्रालय र विभागका नक्कली छाप, विभिन्न व्यक्तिका नाममा बनाईएका करोडौँका तमसुक, ट्राफिक प्रहरीले प्रयोग गर्ने सामान, राष्ट्र बैंकका नक्कली कागज पनि बरामद गरियो। उक्त गिरोह बर्षाैदेखि धनगढीबाट अवैध धन्दा चलाईरहेको प्रहरीले नै बताईसकेको छ।
प्रदेशको राजधानमै अपराधिक गिरोह बर्षाै सम्म सक्रिय हुँदा समेत प्रहरी के गरिरहेको थियो भन्ने अर्को प्रश्न पनि खडा भएको छ। हुन त अहिले उक्त गिरोह पक्राउ परेसंगै ६ बर्ष पुरानो नबिल बैंक लुटपाट प्रकरणमा पनि फेरी अनुसन्धान केन्द्रित भएको छ। धनगढीमा बर्षाैदेखि मोटरसाईकल चोरको गिरोहले पनि सताईरहेको छ।
अहिले आएर पछिल्लो दुई महिनामा मात्रै २२ जना मोटरसाईकल चोरीमा संग्लन पक्राउ परेका छन्, ३१ वटा मोटरसाईकल पनि बरामद गरिएको छ तर मोटरसाईकल चोरी घट्नुको सट्टा दिनप्रतिदिन बढिरहेको छ। साउन महिनामा धनगढीको व्यस्त चोकमै बम विस्फोट भएका घटनाले त यहाँको सुरक्षा व्यवस्थाप्रति थप आशंका बढ्ने गरेको छ।
मिटर ब्याज र ढुकुटीको अवैध धन्दाले धेरैलाई मृत्युको मुखमा पुगाएको छ, धेरैको उठिबास भएको छ भने धेरै फरार छन्। एकातिर जिल्लामा हत्या, हिसां, अपहरणसंगै चोरी, तस्करी र ठगीले प्रसय पाएको छ भने अर्कोत तर्फ चालु आर्थिक बर्षको दुई महिनामा मात्रै कैलालीमा प्रहरीले अपराधिक गतिविधिमा संग्लनहरुलाई एकपछि अर्को गर्दै सार्वजनिक गरेको छ।
यि र यस्तै घटनाले कैलालीमा अपराध बढेको हो वा प्रहरीको सक्रियता भन्ने प्रश्न समेत उब्जिएको छ। ‘चोरी र ठगीको धन्दाले प्रदेशको अस्थायी राजधानी कैलालीलाई असुरक्षित बनाउँदै गएको छ,’ बार एसोसिएसन कैलालीका अध्यक्ष शिव केसीले भने, ‘जव सम्म लागो पदार्थ सेवनकर्ता र ओसारपसारमा संग्लनलाई कारवाहीको दायरामा ल्याउन सकिन्न, तव सम्म अपराध रोक्न निकै मुस्किल हुन्छ।’
उनले अगाडी थपे– ‘पछिल्ला केही महिना यता प्रहरीको सक्रियता बढेको कुरा साँचो हो, तर अपराध बढेको तथ्यलाई पनि नजरअन्दाज गर्न सकिदैन्।’ ‘प्रहरीको सक्रियता त पहिले देखि नै थियो,’ पूर्व प्रहरी बरिष्ठ उपरिक्षक मोहनराज जोशीले भने, ‘अहिले आएर जनसङख्या ह्वात्तै बढेपछि अपराधको ग्राफ पनि बढेको छ।’ सुरक्षा व्यवस्था अझै मजवुत बनाउँन प्रहरीले आफ्नो भुमिका फराकिलो बनाउन आवश्यक रहेको समेत उनले बताए।
‘कैलालीमा हत्या, हिसां, अपहरणसंगै चोरी तस्करीमा संग्लनहरु पक्राउ परेकोले अपराध नियन्त्रणमा प्रहरीको सक्रियता स्पष्ट देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘जिल्ला प्रहरी कार्यालय कैलालीको टिम अहिले धेरै अपराधिक गिरोहलाई पनि कानुनी दायरामा ल्याउन सक्रि छ।’
प्रहरी नायव उपरिक्षक बस्नेतले थपे– ‘मोटरसाईकल चोरीमा संग्लन गिरोह नै पक्राउ परेको छ, नक्कली नोट छाप्ने गिरोहलाई हामीले नियन्त्रणमा लिन सफल भएको छौँ, लागुपदार्थ सेवनकर्ता र कारोवारमा संग्लनदलाई पनि निगरानीमा राखेका छौ।’ भारतमा चोरीमा संग्लनहरुको गिरोह समेत अहिले प्रहरीको नियन्त्रणमा रहेको उनले बताए। अपराधिक गतिविधिमा संग्लनहरु पक्राउ हुने क्रम ह्वात्तै बढेपनि अपराध भने रोकिएको छैन्।
कैलालीमा राजनीतिक दलका केही नेता, केही प्रहरी र शक्ति केन्द्रको आडमा आपराधिक घटनामा संलग्न व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ। संरक्षणमा रहेका आपराधिक गिरोहबाट सञ्चालित व्यक्तिहरू विभिन्न स्थानमा गुन्डागर्दी, लुटपाट, हत्या, हिसां र चोरी तस्करी गर्दै आएका छन्।