सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री कमलबहादुर शाहद्वारा बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा 

२०८३ साउन २७, १०:०१ लक्ष्मण ढुङ्गाल

धनगढीः बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ बनाउने निर्णय कार्यान्वयनको घोषणा गरिएको छ।  

बुधवार धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश मन्त्रिपरिषद्को यही साउन १९ गतेकोे बैठकको निर्णयअनुसार वन संरक्षण क्षेत्र घोषणा गरेका हुन्। 'दुई जिल्लाका महत्त्वपूर्ण वन तथा प्राकृतिक क्षेत्रलाई एउटै संरक्षण क्षेत्रका रूपमा विकसित गर्ने उद्देश्यले सरकारले निर्णय गरिसकेको छ। सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम संरक्षण क्षेत्र घोषणा गरिएको हो', मुख्यमन्त्री शाहले भने, 'बडीमालिका र रामारोशन क्षेत्रको प्राकृतिक सम्पदा, जैविक विविधता तथा वन संरक्षणलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ।'

घोषित संरक्षण क्षेत्रमा बाजुराको बडीमालिका नगरपालिका–५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिका–५, ६, ७ र ९ का क्षेत्र समेटिएका छन्। यस्तै, अछामको मेल्लेख गाउँपालिका–१ र २ तथा रामारोशन गाउँपालिका–४, ५ र ६ का क्षेत्र गरी ४९८ दशमलव चार वर्गकिलोमिटर वन संरक्षण क्षेत्रमा समावेश गरिएका छन्।

बडीमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण क्षेत्र हो भने रामारोशन प्राकृतिक सौन्दर्य, ताल तथा जैविक विविधताका कारण परिचित छ। यी दुई क्षेत्रलाई एउटै संरक्षण भूगोलमा समेटिएसँगै वन तथा प्राकृतिक स्रोतको संरक्षणसँगै पर्यावरणीय पर्यटनको विकासका लागि समेत आधार तयार हुने प्रदेश सरकारको विश्वास छ।

प्रदेश सरकारले संरक्षण क्षेत्रभित्र रहेका वन, वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र स्थानीय समुदायको सहभागितालाई प्राथमिकतामा राख्ने जनाएको छ। दुई जिल्लाका स्थानीय तहबीच संरक्षण र पर्यटन विकासमा सहकार्य बढाउनसमेत यस घोषणाले आधार तयार गर्ने अपेक्षा गरिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस