टेस्ट ड्राइभ भन्दै बाइक लिएर फरार व्यक्ति, बाइक ग्यारेजमा छाडेर ग्यारेजवालाकाे मोबाइल लिएर भागे!
धनगढी: कैलालीको अत्तरियामा टेस्ट ड्राइभ गर्ने बहानामा चोरी भएको मोटरसाइकल महेन्द्रनगरमा फेला परेको छ।
अत्तरियास्थित बाबु अटो सेल्सबाट टेस्ट ड्राइभ गर्ने भन्दै लगिएको सुपप्र ०१–०१२ प ७६७२ नम्बरको मोटरसाइकल महेन्द्रनगरको एक ग्यारेजमा फेला परेको हो।
प्रहरीका अनुसार, मोटरसाइकल लिएर गएका ती व्यक्ति भीमदत्त नगरपालिकाको त्रिवेणी चोकस्थित अवय अटो सपमा पुगेका थिए।
त्यहाँ उनले मोटरसाइकल सर्भिस गर्नुपर्ने भन्दै ग्यारेजमा छाडे।
तर कहानी यतिमै सकिएन।
केहीबेरपछि ती व्यक्तिले ‘एकछिन फोन गर्छु’ भन्दै सञ्चालकसँग मोबाइल मागे। मोबाइल हात परेपछि भने उनी मोटरसाइकल छाडेर मोबाइलसहित फरार भए।
अटो सप सञ्चालकले मोबाइल चोरी भएको जानकारी प्रहरीलाई गराएपछि अनुसन्धानका क्रममा अत्तरियाबाट टेस्ट ड्राइभको बहानामा लगिएको मोटरसाइकल पनि त्यहीँ रहेको खुलेको हो।
अर्थात्, मोटरसाइकल ग्यारेजमा भेटियो, तर मोबाइल लिएर गएका व्यक्ति भने अझै फरार छन्।
प्रहरीका अनुसार फरार व्यक्तिको खोजी भइरहेको छ।
टेस्ट ड्राइभको बहानामा सुरु भएको यो घटनामा मोटरसाइकल त फेला पर्यो, तर मोबाइल लिएर फरार भएका व्यक्तिको खोजी भने अझै जारी छ।