सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानमन्त्री देउवा साउन २६ गते स्वदेश फर्किने

२०८३ साउन २१, ०४:२८ खबर संवाददाता

काठमाडौँ: उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते बेलुकी स्वदेश फर्किने भएका छन्।

कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा हङकङबाट सोही दिन नेपाल फर्किने कार्यक्रम तय भएको छ। “उहाँ साउन २६ गते बेलुकी स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी पाएको छु,” महतले बताएका छन्।

देउवा उपचारका लागि निर्वाचनअघि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी हङकङ पुगेका थिए र अहिले त्यहीँबाट स्वदेश फर्किन लागेका हुन्।

यसअघि देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई पत्राचार गर्दै साउनभित्रै नेपाल फर्किने जानकारी गराएका थिए।

देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। देउवा उक्त भेलामा सहभागी हुने वा नहुने विषयमा भने हालसम्म औपचारिक निर्णय भएको छैन।
 

कमेन्ट लोड गर्नुस