सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीको नयाँ तलबमान स्वीकृत, कसको कति?

२०८३ साउन २१, ०२:०३ खबर संवाददाता

काठमाडौँः नेपाल सरकारले कर्मचारीको नयाँ तलबमान, ग्रेड तथा सुविधा स्वीकृत गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले साउन २० गते परिपत्र जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान साउन १ गतेदेखि लागू भएको जनाएको छ।

मन्त्रिपरिषद्को साउन ६ गतेको बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो।

नयाँ तलबमानअनुसार मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापतिको मासिक कुल तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ। यस्तै, सचिव, रथी, नेपाल प्रहरीका महानिरीक्षक तथा सशस्त्र प्रहरी महानिरीक्षकको मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।

श्रेणीविहीन कर्मचारीतर्फ कार्यालय सहयोगी प्रथम स्तरको मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीले एक दिनको तलब बराबरको ग्रेड रकमसमेत पाउनेछन्। त्यसैगरी वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने निर्णय गरिएको छ। यो व्यवस्था निजामती, सेना, प्रहरी, स्वास्थ्य सेवा, शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीमा लागू हुनेछ।

पेन्सनमा पनि १० प्रतिशत वृद्धि
नयाँ तलबमानसँगै निवृत्तभरण प्राप्त गर्ने पूर्वकर्मचारीको पेन्सनमा समेत १० प्रतिशत वृद्धि हुने भएको छ। अर्थ मन्त्रालयले विभिन्न सेवा समूहका कर्मचारीको नयाँ तलबमान र ग्रेडसम्बन्धी विस्तृत विवरण अनुसूचीमार्फत सार्वजनिक गरेको छ। त्यसमा प्राविधिक तथा विशेष प्रकृतिका सेवामा कार्यरत कर्मचारीको ग्रेड र अन्तिम तलबसमेत उल्लेख गरिएको छ।

 

कमेन्ट लोड गर्नुस