कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ परेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया बजार स्थित गोप्य सूचनाको आधारमा सोही ठाउँ बस्ने ३४ वर्षीय पदम भण्डारीले सञ्चालन गरेको कालिका टेन्ट हाउस भित्र लुकाई छिपाई राखेको अवैध भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ५८ हजार ७ सय बराबरको साडी, धोती, सुटपिस, कुर्ति, उक्त सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल थान–२ लगायतका सामानहरु फेला पारी निज टेन्ट सञ्चालकसहित ४ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा टेन्ट सञ्चालक पदम भण्डारी र भारतबाट भन्सार छली गरी ल्याउने मानिसहरु कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने ३७ वर्षीय जित सिंह पार्की, सोही नगरपालिका–११ बस्ने ३४ वर्षीय थानेश्वर प्रसाद जोशी र कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बस्ने २७ वर्षीय दिपक भट्ट रहेका छन्।
उनीहरु चारै जनालाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरीले आइतवार बिहान पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।