सुदूरपश्चिममा औसतमा दैनिक झण्डै दुईजनाले आत्महत्या गर्छन्
विश्व आत्महत्या रोकथाम दिवस
मंगलबार विभिन्न कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस मनाईदैछ। दिवसका अवसरमा सुदूपश्चिममा पनि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम आयोजना गरिएका छन्। तर विश्वमा प्रति ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक भईरहेका बेला सुदूरपश्चिममा पनि आत्महत्या भयावह बन्दै गएको छ। प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा दैनिक १५ जना र सुदूरपश्चिममा औसतमा दैनिक दुईजनाले आत्महत्या गर्ने गरेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले आत्महत्याको दर वर्षेनी भयावह बन्दै गएको जनाएको छ। प्रहरीले उपलब्ध गराएको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको देखिन्छ। पछिल्लो तीन वर्षको अवधीमा प्रदेशका नौँ वटै जिल्लामा एक हजार चार सय १६ जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७३÷७४ मा चार सय ३३ जनाले आत्महत्याका कारण मृत्युवरण गरेका छन् भने आर्थिक वर्ष २०७४÷७५ मा उक्त संख्यामा बृद्धि भई आत्महत्याका कारण चार सय ८० जनाले आत्महत्या गरेका छन्।
यस्तै गत आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढि पाँच सय तीन जनाले आत्महत्या गरेको पाईएको प्रहरी प्रहरी कार्यालय दिपायलले जनाएको छ। पहाडी जिल्लाको तुलनामा तराईमा आत्महत्या गर्नेको संख्या तुलनात्मक रुपले बढि देखिएको प्रहरीको भनाई छ। तीन वर्षको अवधीमा आत्महत्या गरेका एक हजार चार सय १६ जना मध्ये सबैभन्दा बढि कैलालीमा पाँच सय ६४ जना रहेका छन् भने कञ्चनपुरमा चार सय ५७ जनाले आत्महत्या गरेका छन्।
यस्तै तीन वर्षकै अवधीमा बैतडीमा ९०, डडेल्धुरामा ७०, अछाममा ६६, दार्चुलामा ५५, डोटीमा ५५, बझाङमा ३० र बाजुरामा ३० जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेत जनघनत्वका बढि भएका कारण पनि अन्य जिल्लाको तुलनामा कैलालीमा आत्महत्या गर्नेहरुको संख्या तुलनात्मक रुपमा बढि देखिएको हुन सक्ने बताउँछन्। तर अनुसन्धानबाट आत्महत्या गर्नुका विभिन्न कारणहरु देखिएको उनले उल्लेख गरे।
बस्नेतले दैनिक आवश्यकता बढ्दै गएपनि समाजमा त्यो अनुसारको आर्थिक हैसियत बनाउँन नसकेका कारण पनि कतिपयले आत्महत्या रोजेको भेटिएको जनाए। उनले विवाहत्तोर सम्बन्ध, सामाजिक सञ्जालको गलत प्रयोग, घरेलु हिंसा पनि आत्महत्याका कारकत्व रहेको बताए। यस्तै दीर्घ रोग लागेमा उपचार गर्न नसकेर पनि धेरैले आत्महत्या रोजेका उदाहरण रहेको प्रहरी नायब उपरिक्षक बस्नेत बताउँछन्।
कञ्चनपुरका प्रहारी नायब उपरिक्षक नरेन्द्र चन्दले आत्महत्याको प्रमुख कारणका रुपमा प्रविधिको गलत प्रयोग देखिएको बताए। उनले सामाजिक सञ्जालको गलत प्रयोग बढ्दै गएपछि आत्महत्या रोकथाम गर्न चुनौतीपूर्ण देखिएको बताए। यस्तै सानै उमेरमा विवाह गर्ने तर पछि सम्बन्धमा फाँटो आउँदा आत्महत्या रोज्ने गरेको पाईएको उनी बताउँछन्।
आत्महत्याको दर बृद्धि हुनुमा समाज पनि कारक तत्व भएको प्रहरीले बताउँदै आएको छ। चिकित्सकहरुले पनि एउटा व्यक्तिले आत्महत्या रोज्नुको पछाडी विभिन्न कारण हुने बताएका छन्। मानसिक रोग विशेषज्ञ डाक्टर सुरज तिवारीले डिप्रेसन जस्ता मनोरोग, दुव्र्यशनीका कारण भविष्यप्रतीको उत्साह नभएपछि मानिसले आत्महत्या रोज्ने गरेको बताए।
तिवारीले भने, ‘मानिसले मनोभावलाई नियन्त्रण गर्न नसकेर, एक्लो जीवन बाँचिरहेको भए भावनात्मक सहारा नभएको अवस्थामा आत्महत्या गर्ने गरेको देखिन्छ।’‘आत्महत्याको पछाडी मनोवैज्ञानिक, सामाजिक, वातावरणीय कारणहरु जोडिएका हुन्छन् सबै आत्महत्याका फरक फरक कारण भएपनि ८० प्रतिशत आत्महत्या मनोरोगकै कारण हुने गरेका छन्।’ तिवारीले भने। तर आत्महत्याको रोकथाम गर्न सकिने चिकित्सकको भनाई रहेको छ।
डाक्टर तिवारीले मनोरोगको पहिचान गरी उपचार गर्न सके आत्महत्याको भाव हटाउने सकिने बताए। उनले मानसिक स्वास्थ्य बारे खुलेर कुरा गर्ने, विभिन्न खालका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सकेमा आत्महत्या रोकथाम गर्न सम्भव भएको बताएका छन्। कतिपय अवस्थामा अन्य व्यक्तिले आत्महत्या गर्न बाध्य पारेका उदाहरण पनि रहेको प्रहरीको भनाई रहेको छ।
आत्महत्या दुरुत्साहन गर्नेलाई भने मुलुकी अपराध संहिताले दण्ड सजायको व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने व्यवस्था गरेको छ। उक्त दफामा भनिएको छ, कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुदैन्। सोही दफाको उपदफा २ मा उक्त कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैँया सम्म जरिबाना हुने उल्लेख गरिएको छ। उक्त कानूनी व्यवस्थापछि पछिल्लो एक वर्षको अवधीमा मात्र सुदूरपश्चिममा आत्महत्या दुरुत्साहन सम्बन्धी ३६ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।