सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ लिँदै

२०८३ साउन १३, ०१:१३ खबर संवाददाता

सुर्खेतः कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज बुधबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका सचिव हीरालाल चौधरीका अनुसार मुख्यमन्त्रीको शपथ ग्रहण दिउँसो ३ बजे हुने जानकारी प्राप्त भएसँगै समारोहका सबै तयारी सम्पन्न गरिएको छ।

यता, मुख्यमन्त्रीको शपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ नेकपा र नेकपा (एमाले)बीच छलफल जारी रहेको छ। मन्त्रालयको भागबण्डा, मन्त्रीहरूको सङ्ख्या तथा जिम्मेवारी निर्धारण गर्न दुवै दलका शीर्ष नेताबीच निरन्तर संवाद भइरहेको जनाइएको छ।

दुवै दलबीच समयमै सहमति जुटेमा मुख्यमन्त्रीको शपथलगत्तै केही मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिने सम्भावना रहेको छ। तर मन्त्रालयको अन्तिम बाँडफाँट तथा मन्त्रीहरूको नाम भने अझै टुङ्गो लाग्न बाँकी रहेको छ।

कमेन्ट लोड गर्नुस