कञ्चनपुरमा अवैध बालुवा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रण तथा अवैध कुखुरा बरामद गरी नष्ट
कञ्चनपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अवैध रूपमा बालुवा ओसारपसार गरिरहेको एक ट्र्यक्टर नियन्त्रणमा लिनुका साथै बेवारिसे अवस्थामा फेला परेको अवैध बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ कलुवापुर क्षेत्रमा अवैध रूपमा बालुवा उत्खनन गरी लोड गरेर ल्याउँदै गरेको अवस्थामा ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शुक्लाफाँटा–११ नौखुरी बस्ने वर्ष ३७ का छोटेलाल चौधरीले चलाएको सु.प्र. ०२ ००१ त १७२४ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि शुक्लाफाँटा नगरपालिकाको कार्यालयमा बुझाइएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चभोजस्थित सडकबाट बेवारिसे अवस्थामा फेला परेको १ क्विन्टल ६० किलो बोइलर कुखुरा बरामद गरेको छ।
बरामद गरिएका ४६ हजार चार सय बराबरका बोइलर कुखुरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए।