नारायणी अस्पतालमा अत्यावश्यक सेवा सुचारू गराउन मानव अधिकार आयोगको आग्रह
काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरिकको स्वास्थ्य अधिकारमा गम्भीर असर परेको भन्दै सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ।
नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा गरिएको तोडफोडको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सोमबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्। आयोगले घटनाबारे स्थलगत अनुगमनसमेत गरेको जनाएको छ।
आयोगले चिकित्सकमाथिको आक्रमण र अस्पतालमा भएको तोडफोडलाई निन्दनीय घटना भन्दै यस्ता गतिविधिले कानुनी शासनमाथि चुनौती सिर्जना गर्ने उल्लेख गरेको छ। साथै, विरोधका नाममा नियमित स्वास्थ्य सेवा बन्द गर्दा बिरामी उपचारबाट वञ्चित भएको र त्यसले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकमाथि प्रतिकूल असर परेको आयोगको निष्कर्ष छ।
आयोगले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको छ। साथै, आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध नगरी वैकल्पिक माध्यमबाट आफ्नो विरोध जनाउन आग्रह गरेको छ।
त्यसैगरी, सरकार, आन्दोलनरत चिकित्सक, मृतकका परिवार र सम्बन्धित सबै पक्षलाई वार्तामार्फत विवाद समाधान गरी स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आयोगले अपिल गरेको छ।