सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमै पहिलोपटक टीकापुरमा १०८ कुण्डीय गोपाल अष्टोत्तरशत विराट महायज्ञ हुँदै

२०८३ साउन १०, ०१:१७ रासस

सुदूरपश्चिम: सुदूरपश्चिमको टीकापुरमा नेपालकै पहिलो तथा हालसम्मकै सबैभन्दा ठूलो १०८ कुण्डीय गोपाल अष्टोत्तरशत विराट महायज्ञ आगामी मंसिर १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ।
ईश्वर प्रेमी सेवा आश्रम, टीकापुर–कैलालीको आयोजनामा तथा श्री १००८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्य जी महाराजको संकल्पमा आयोजना हुन लागेको यस महायज्ञमा देशभरबाट हजारौं श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

महायज्ञअन्तर्गत १०८ वटा हवन कुण्डमा एकसाथ वैदिक विधिअनुसार हवन, गोपाल सहस्रनामबाट आहुति, चारै वेदको पारायण तथा १८ पुराणको पारायण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। साथै, ज्वाला फैलेखको नाभिस्थानबाट पवित्र अग्नि ल्याइने विशेष धार्मिक कार्यक्रम पनि समावेश गरिएको छ।

धर्म संरक्षण, अर्थ समृद्धि, कामना सिद्धि तथा पितृ उद्धारको उद्देश्यले आयोजना हुन लागेको यस महायज्ञले सनातन वैदिक संस्कृतिको संरक्षण, धार्मिक चेतनाको विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।

आयोजकका अनुसार १०८ हवन कुण्डमा एकैसाथ वैदिक अनुष्ठान सञ्चालन हुने भएकाले यो महायज्ञ नेपालकै धार्मिक इतिहासमा एक ऐतिहासिक तथा विशिष्ट आयोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस