तनहुँमा बस दुर्घटना: १५ जना घाइते, चालकको अवस्था गम्भीर
तनहुँः तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडकखण्डमा मंगलबार दिउँसो करिब ३:१५ बजे यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्।
कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा बस कलेस्ती खोलाको पुलमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १७ जनाको टोली घटनास्थल पुगेर चालकको उद्धार गरेको थियो। घाइते चालकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ।
बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी छ। दुर्घटनामा चालक व्यास–२ निवासी २६ वर्षीय शम्शेर परियारको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा गम्भीर चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा भए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अन्य १४ जना घाइतेको रत्नहरी अस्पताल, तनहुँमा उपचार भइरहेको छ। उनीहरूमध्ये अधिकांशको निधार, हात, खुट्टा, घुँडा, अनुहार तथा मुखमा सामान्य चोट लागेको छ।
दुर्घटनापछि केही समय प्रभावित भएको सडक अहिले सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त बस हटाउने कार्य जारी रहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।