शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते, माया मेट्रो अस्पतालमा उपचार हुँदै
धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक महिला शनिवार बाघको आक्रमणमा परी घाइते भएकी छन्।
शनिवार बेलुका करिब ५ बजे घाँस शुक्लाफाँटा जंगलमा गएकी धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन्। घटनालगत्तै स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो।
माया मेट्रो अस्पतालका इन्चार्ज जगत महताका अनुसार घाइतेको अस्पतालमा आवश्यक परीक्षण तथा उपचार भइरहेको छ। विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको तथा स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन भइरहेको उनले जानकारी दिए।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान तथा विवरण संकलन गरिरहेको जनाएको छ। साथै, जंगल क्षेत्रमा घाँस, दाउरा तथा अन्य वनजन्य सामग्री संकलन गर्न जाँदा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ।