सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशौं वार्षिकोत्सवमा साथी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर, २६७ जना लाभान्वित

२०८३ असार २८, ०४:५० खबर संवाददाता

टीकापुर: साथी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा टीकापुर–१, एकतापुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २६७ जना सेवाग्राही लाभान्वित भएका छन्। २०८३ असार २७ गते सम्पन्न शिविरमा विभिन्न उमेर समूह, लिङ्ग तथा समुदायका स्थानीय नागरिकले स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक उपचार सेवा प्राप्त गरेका थिए।

अस्पतालका अनुसार शिविरमा रु. १ लाख ९५ हजार ४ सय ४८ बराबरका निःशुल्क औषधि वितरण गरिएको थियो। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक रूपमा विपन्न नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ।

शिविर सफल बनाउन टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा, नयाँ नेपाल आधारभूत विद्यालय परिवार, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय समाजसेवी तथा एकतापुरका सम्पूर्ण बासिन्दाले महत्त्वपूर्ण सहयोग गरेको अस्पतालले जनाएको छ। सहयोग गर्ने सबैप्रति अस्पताल परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

अस्पतालले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा समुदाय केन्द्रित स्वास्थ्य सेवालाई अझ प्रभावकारी र नियमित रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

कमेन्ट लोड गर्नुस