धनगढीमा निःशुल्क आवासीय सीपमूलक तालिम, ५० जनालाई अवसर
धनगढी: धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने धनगढी भोकेसनल स्कुलमार्फत ५० जना युवायुवतीलाई निःशुल्क आवासीय सीपमूलक तालिम प्रदान गरिने भएको छ।
उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले सूचना जारी गर्दै सहायक प्लम्बर र बिल्डिङ इलेक्ट्रिसियन सम्बन्धी तालिमका लागि आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार सहायक प्लम्बर (३९० घण्टा) तालिममा २५ जना र बिल्डिङ इलेक्ट्रिसियन (३९० घण्टा) तालिममा २५ जना गरी कुल ५० जनालाई सहभागी गराइनेछ। तालिम अवधि ३ महिना रहनेछ भने त्यसपछि १ महिना कार्यस्थलमै व्यावहारिक तालिम गराइनेछ। यसरी तालिमको कुल अवधि ४ महिना हुनेछ।
तालिम २०८३ साल साउन १० गतेदेखि सञ्चालन हुनेछ। इच्छुक तथा योग्यता पुगेका युवायुवतीले २०८३ साउन ५ गतेभित्र आवेदन दिन सक्नेछन्।
तालिममा सहभागी हुन न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण हुनुपर्नेछ। साथै आवेदकको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र बेरोजगार भई तालिमपश्चात सोही क्षेत्रमा काम गर्न इच्छुक हुनुपर्ने उल्लेख गरिएको छ।
आवेदन तथा थप जानकारीका लागि धनगढी उपमहानगरपालिकाको रोजगार सेवा केन्द्र, धनगढी भोकेसनल स्कुल (वडा नं. १८, फूलबारी, कैलाली) मा सम्पर्क गर्न सकिने जनाइएको छ।