धनगढीमा इको पार्क निर्माण,पर्यटनसँगै स्थानीय व्यवसाय प्रवर्द्धन हुने अपेक्षा
धनगढी: धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित डिलाशैनी सामुदायिक वन क्षेत्रमा इको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भइरहेको पार्कले धनगढी तथा
कञ्चनपुर क्षेत्रका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
उद्योग, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन विकास कार्यक्रममार्फत निर्माण भइरहेको पार्कका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। वन क्षेत्रभित्र करिब एक हजार ५० वर्गमिटर क्षेत्रमा पदमार्ग निर्माणका लागि ब्लक बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ। निर्माणको अधिकांश काम सम्पन्न भइसकेको र बाँकी काम पनि छिट्टै सकिने निर्माण समितिले जनाएको छ।
डिलाशैनी सामुदायिक वन धनगढीलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकासँग जोड्ने महत्वपूर्ण हरित क्षेत्र हो। वनको प्राकृतिक वातावरण, हरियाली र जैविक विविधताका कारण यस क्षेत्रको छुट्टै पहिचान छ। यही विशेषतालाई संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित इको पार्क निर्माण अघि बढाइएको हो।
पार्क निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाका साथै बाहिरी जिल्लाबाट आउने पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ। पर्यटकको आगमन बढेसँगै होटल, रेष्टुरेन्ट, चिया–नास्ता पसल, स्थानीय उत्पादनको बिक्री तथा अन्य साना व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीयको अपेक्षा छ। पार्कले स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ।
हाल पदमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। करिब १५० मिटर लम्बाइको पदमार्गलाई व्यवस्थित बनाइँदै छ भने पार्क परिसरलाई थप सुरक्षित र आकर्षक बनाउन करिब ५०० मिटर क्षेत्रमा तारजालीसहित घेराबार गरिने तयारी गरिएको छ। यसबाट चौपाया प्रवेश नियन्त्रण हुनुका साथै पार्कको सौन्दर्य र सुरक्षा कायम रहने विश्वास गरिएको छ।
श्री डिलाशैनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक ढुंगालका अनुसार पार्कभित्र विभिन्न प्रजातिका बिरुवा रोपिने, विश्रामका लागि बस्ने स्थान निर्माण गरिने तथा वातावरणमैत्री संरचनाहरू थप गरिने योजना छ। आगामी दिनमा पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउन नयाँ पूर्वाधार निर्माणको योजना पनि रहेको उनले बताए।
स्थानीयका अनुसार पार्क निर्माणपछि बिहान र साँझ हिँड्ने, दौडिने तथा व्यायाम गर्ने सुरक्षित र रमणीय स्थानको अभाव पनि पूरा हुनेछ। यसले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै वन संरक्षणप्रति नागरिकको चासो र सहभागिता बढाउने विश्वास गरिएको छ।
सामुदायिक वन समितिले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कार्य सम्पन्न गर्ने तयारी गरिरहेको छ। आगामी आर्थिक वर्षमा पार्क विस्तार, थप सौन्दर्यीकरण र आवश्यक पूर्वाधार निर्माणका लागि थप बजेटको माग गरिने समितिले जनाएको छ।
प्राकृतिक सम्पदाको संरक्षण, पर्यटन विकास, वातावरणीय सन्तुलन र स्थानीय आर्थिक गतिविधिलाई एकैसाथ टेवा पुर्याउने लक्ष्यका साथ निर्माण भइरहेको डिलाशैनी इको पार्क धनगढीको नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।