सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवनाथ गाउँपालिका पूर्ण संस्थागत सुत्केरीयुक्त घोषणा

२०८३ असार २२, ०५:१९ खबर संवाददाता

बैतडी:बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त पालिका घोषणा गरिएको छ। आवश्यक सबै मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरीयुक्त घोषणा गरिएको हो।

पूर्ण संस्थागत सुत्केरीयुक्त पालिका घोषणा हुन पालिकाभित्रका कम्तीमा ९० प्रतिशत गर्भवतीले नियमित गर्भजाँच गरेको, ९५ प्रतिशतभन्दा बढीले स्वास्थ्य संस्थामै सुत्केरी गराएको तथा घरमा हुने प्रसूति शून्य भएको हुनुपर्ने मापदण्ड रहेको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताका अनुसार चार पटक गर्भजाँच गर्ने गर्भवतीको संख्या ९०.७ प्रतिशत पुगेको छ भने तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा स्वास्थ्य संस्थामै सुत्केरी गराउनेको संख्या शतप्रतिशत रहेको छ।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले सबै गर्भवतीले स्वास्थ्य संस्थामै सुरक्षित रूपमा सुत्केरी हुने अवस्था कायम राख्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताए। उनले मातृ तथा नवजात शिशु मृत्यु दर शून्यमा झार्दै समग्र स्वास्थ्य अवस्था सुधार गर्न गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको उल्लेख गरे।

कमेन्ट लोड गर्नुस